खरसाङको टेकवीर बस्तीमा गाउँले हाट शुरु, प्रत्येक हप्ता शनिवार गाउँले हाट लाग्ने
खरसाङको टेकवीर बस्तीमा गाउँले हाट शुरु, प्रत्येक हप्ता शनिवार गाउँले हाट लाग्ने


खरसाङ, 29 नोभेम्बर (हि.स.)। खरसाङको वार्ड नम्बर 2 स्थित टेकवीर बस्तीमा शनिवारदेखि गाउँले हाट शुरु गरिएको छ। अबदेखि हप्ताको प्रत्येक शनिवार लाग्ने यो गाउँले‌ हाटको उद्घाटन आज प्रमुख अतिथिका रुपमा उपस्थित खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, विशिष्ट अतिथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका कार्यकारी सभापति सन्दीप बल र टेकवीर बस्ती प्रगति गाउँ प्रगति संघका सचिव बीरबल पाख्रीनको बाहुलीबाट विधिवत् रूपमा रिबन काटेर गरियो।

टेकवीर बस्तीमा शुरु गरिएको गाउँले हाटको पहिलो दिन 21 वटा दोकानहरु लगाइएको थियो। गाउॅंले हाटको लागि कुल 30 वटा दोकानहरु पञ्जीकरण गरिएको बताइएको छ। स्थानीयहरुका लागि भनेर गाउँमा नै शुरु गरिएको गाउँले हाटको यस उद्घाटन कार्यक्रमलाई टेकवीर बस्ती युथका सभापति प्रशान्त गुरुङले सञ्चालन गरेका थिए।

यस गाउँले हाट उद्घाटनका प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले सम्पूर्ण दोकानहरुको निरीक्षण भ्रमण गरे। अब यहाँ सञ्चालित गाउँले हाट प्रत्येक शनिवार बिहान 9 बजीदेखि 4 बजीसम्म लाग्ने बताइएको छ। उक्त गाउँले हाट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै टेकवीर बस्तीका युवाहरुले टेकवीर बस्ती र वरिपरिका मानिसहरूलाई प्रत्येक शनिवार यस गाउँले‌ हाटमा आएर सर सामानहरु किनिदिन आह्वान्‌ गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande