मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न
मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न


सोनादा, 29 नोभेम्बर (हि.स.)। मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न भयो। पाँच दशकको लामो शैक्षिक यात्रालाई स्मरण गर्दै विद्यालय परिवार, पूर्व विद्यार्थी, अभिभावक, स्थानीय समाजका अग्रजहरू तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा आज भव्य कार्यक्रम सम्पन्न गरियो।

मुण्डाकोठी उच्च विद्यालयले आफ्नो गौरवशाली 50औँ स्थापना दिवस उत्साह, उमङ्ग र ऐतिहासिक महत्त्वका साथ मनायो। उक्त स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहान उपस्थित रहेका थिए‌। यसैगरी, विशिष्ट अतिथिका रुपमा सभासद नुरी शेर्पा, पूर्व सभासदहरु महेन्द्र प्रधान र रबिन्द्र लामा, एआई, एसआई, पूर्व शिक्षक शिक्षिकाहरु, पञ्चायत प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रममा विद्यालयकी प्रधान अध्यापिका सुधा राईले विद्यालयको पृष्ठभूमि र इतिहासमाथि विस्तृत जानकारी गराइन्। यस अवसरमा बीके देवान, एनएल राई लगायत पूर्व शिक्षकहरु र पूर्व विद्यार्थीहरुलाई सम्वर्द्धना जनाइयो। कार्यक्रममा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो।

उल्लेखनीय छ, मुण्डाकोठी उच्च माध्यमिक विद्यालयको स्थापना सन् 1975 मा भएको थियो। विद्यार्थीहरूका सांस्कृतिक प्रस्तुति, सम्मान समारोह, अतिथिहरूका सम्बोधन तथा विद्यालय विकास सम्बन्धी योजनाहरूले कार्यक्रमलाई अर्थपूर्ण बनाएको थियो।

मुण्डाकोठी उच्च विद्यालय यस क्षेत्रको मात्र नभई सम्पूर्ण समुदायको गौरव बनेको छ। यहाँबाट शिक्षित हजारौँ विद्यार्थी आज विभिन्न क्षेत्रहरूमा चम्किएर समाज र राष्ट्रको सेवामा जुटिरहेका छन्। 50 वर्षको समर्पण, अनुशासन र निरन्तर प्रगतिले यो विद्यालयलाई क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बनाएको छ।

मुण्डाकोठी उच्च विद्यालयकी प्रधान अध्यापिका सुधा राईले‌ विद्यालयको गौरवमय स्वर्ण जयन्ती समारोहमा उपस्थिति र सहयोगका लागि सबैप्रति आभार प्रकट गरेकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande