सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री
सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री


गान्तोक, 29 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीको चिन्तन भवनमा आयोजित एक कार्यक्रमबीच उद्यमशीलताको भावनालाई सशक्त बनाउन मुख्यमन्त्री स्वरोजगार सहायता योजना अन्तर्गत लाभार्थीहरूलाई चेक बितरण गरे। मुख्यमन्त्री कार्यालय र राज्य वाणिज्य एवं उद्योग विभागद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री तामाङ मुख्य अतिथि थिए।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा कुन आधारमा लाभार्थीहरूलाई चेक प्रदान गरिन्छ भन्ने विषयमाथि प्रकाश पार्दै सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए। उनले यस योजनाले युवाहरू र उद्यमीहरूलाई सहायता गर्ने लक्ष्य लिएको बताए भने यस योजनाबाट लाभान्वित बनेका युवाहरूको उदाहरण पेश गरे। उनले खॉंचोमा रहेकाहरूलाई वित्तीय सहायता प्रदान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए।

मुख्यमन्त्रीले यो प्रथम चरणको चेक बितरण रहेको पनि अवगत गराए। उनले सरकारका विभागहरूका प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न र जनताको लागि सहज सेवा वितरण सुनिश्चित गर्न हालैमा तीन दिवसीय समन्वय बैठक आयोजना गरेको जानकारी गराए। यस अतिरिक्त, उनले उत्कृष्ट प्रदर्शन गर्ने पॉंच जना उद्यमीहरूलाई पुरस्कृत गर्ने पनि घोषणा गरे।

आफ्नो स्वागत सम्बोधनमा मुख्यमन्त्री कार्यालयका सचिव कर्म नामग्याल भोटियाले आज 351 संगठनहरूलाई चेक बितरण गरिने बताए। उनले मुख्यमन्त्री विवेकाधीन अनुदान अन्तर्गत 40, मुख्यमन्त्री स्वरोजगार सहायता योजना अन्तर्गत 286 र मुख्यमन्त्री शिक्षा सहायता योजना अन्तर्गत 25 जनालाई चेक बितरण गरिने बताए। उनले चार जना विद्यार्थीलाई कनेक्ट टु सीएम पहल अन्तर्गत चयनित गरिएको पनि बताए।

कार्यक्रममा राज्यका सबै छ जिल्लाबाट लाभार्थीहरू, अधिकारीहरू र मुख्यमन्त्री कार्यालयका अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande