
गान्तोक, 30 नोभेम्बर (हि.स.)। सिक्किमबाट लामो समयदेखि बाल साहित्यमा अभ्यास गरिरहेकी कवि रत्न लक्सम सुब्बाको नयाँ बाल कविता सङ्कलन बाल तृष्णामाथी विमर्श गरिएको छ। नेपाली साहित्य परिषद्को प्रेक्षागृहमा चिया कविता सिक्किमद्वारा आयोजित विमर्श कार्यक्रमका पर्यवेक्षक कालिपत घोष महाविद्यालय बागडोगराका सह प्राध्यापक डा दिपेन तामाङले बाल साहित्य केवल आफूले सोच्ने गरेको सोचलाई मात्र होइन बाल बालिका मोनभावलाई नै प्राथमिकताको साथमा सिर्जना गरिनु पर्ने बताए।
उनले पुस्तक प्रकाशनमा बालबलिकाको चासोलाई ध्यानमा राखेर बाल साहित्य रङ्गीन चित्रहरूसहित सुहाउँदो र आकर्षित ढाँचामा छाप्नु पर्ने आह्वान गरे। उनले सैद्धान्तिक पक्ष विभिन्न पाटोलाई उजागर गर्दै लेखक कविहरूले त्यसमा अडिएर बाल बालिकाहरूको निम्ति सिर्जना गर्नुपर्ने बारेमा अवगत गराए।
बाल तृष्णाको विमर्शमा सिक्किम विश्वविद्यालयकी शोधार्थी मेनुका भुजेल, शोधार्थी मेनप्रसाद शर्माले कविता सङ्कलन बालबालिकाको निम्ति सार्थक सिर्जना रहेको बताए। कवि मणिका शर्माले सहजीकरण गरेको विमर्शमा भारतमा बाल साहित्यको दशा र दिशाबारे पनि जानकारी राखेका थिए।
बाल साहित्यमा बाल तृष्णा किताबले सानो वर्गका नानीहरूको निम्ति महत्वपूर्ण सिर्जनाको रूपमा हेर्न सकिने विमर्शमा कुरा उठान गरिएयो। जसमा रङ्गीन प्रकाशन, तृष्णाको महत्व र सार्थकता बारे पनि चर्चा गरिएको थियो।
यसैगरी, सर्जक रत्न लक्सम सुब्बाले आफू शिक्षकको पेशामा रहेको हुनाले प्राथमिक पाठशालामा आफ्नो सहकर्मीले प्रोत्साहन गरेको बताउँदै धेरै साना बाल बालिकाहरूको निम्ति ध्यानमा राखेर यो कृति प्रकाशित गरेको बताइन्। उनले पुस्तक प्रकाशनको निम्ति सिक्किम अकादेमीलाई आभार प्रकट गरिन् भने नेपाली साहित्य परिषद्ले कार्यक्रमको निम्ति प्रेक्षागृह उपलब्ध गराएकोमा धन्यवाद प्रकट गरिन्।
चिया कविता, सिक्किमले बाल साहित्यमा योगदान दिने तथा बाल साहित्यमा अकादमी पुरस्कारले पुरस्कृत भएका सिक्किमका साहित्यकार भीम प्रधान र मिना सुब्बालाई सम्मान जनायो। यसैगरी, साहित्य अकादमी अनुवाद पुरस्कारले पुरस्कृत कवि अमर बानियाँ लोहोरोलाई पनि सम्मान पत्र प्रदान गरियो भने सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बालाई पुष्प गुच्छा प्रदान गरेर आभार प्रकट गरिएको थियो।
चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा सिक्किमका वरिष्ठ साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। उल्लेखनीय छ बाल साहित्यमा यस प्रकारको विमर्शको कार्यक्रम सम्भवत् पहिलो पल्ट गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल