हाम्रा दिदीहरूले केवल लाखपति बन्ने लक्ष्य नराखून्, उनीहरू करोड़पति बन्ने लक्ष्य राखून्: सांसद श्रृंगला
हाम्रा दिदीहरूले केवल लाखपति बन्ने लक्ष्य नराखून्, उनीहरू करोड़पति बन्ने लक्ष्य राखून्: सांसद श्रृंगला


दार्जिलिङ, 29 नोभेम्बर (हि.स.)। दार्जिलिङ वेलफेयर सोसाइटी (डीडब्ल्युएस) का अध्यक्ष तथा राज्य सांसद हर्षवर्धन श्रृंगलाको नेतृत्वमा गेट्स फाउण्डेशनका वरिष्ठ प्रतिनिधिहरूलाई आज पेशोक चिया बगानमा स्वागत गरियो। यो भ्रमण सोसाइटीको जीविकोपार्जन परियोजनाको प्रगति बुझ्नको लागि आयोजना गरिएको थियो, जसलाई ग्रान्ट थोरन्टन भारतले कार्यान्वयन गरिरहेको छ।

यस भ्रमणले वैकल्पिक आम्दानीका स्रोतहरू मार्फत ७ वटा चिया बगानका समुदायहरूलाई सहयोग गर्ने प्रतिबद्धतालाई दर्शाउँछ। हाल यो परियोजना पेशोक, पानीघट्टा, मकैबारी, मुण्डा कोठी, मंगरजङ, सम्रिकपानी र अम्बोटियामा संचालन भइरहेको छ, जसले दार्जिलिङ क्षेत्रमा व्यापक लाभ पुऱ्याइरहेको विज्ञप्तिमा उल्लेख छ।

भ्रमण टोलीले परियोजनाका लाभग्राहीहरूसँग कुराकानी गऱ्यो र प्रदर्शन प्लट, नर्सरी एकाइ, ओइस्टर च्याउ खेती र डल्ले खुर्सानीको पेस्ट बनाउने उद्यम जस्ता विभिन्न कार्यहरूको निरीक्षण गऱ्यो। महिला उद्यमीहरूले आफ्ना अनुभवहरू साट्दै यस कार्यक्रमले उनीहरूको आत्मविश्वास, सीप र आर्थिक आत्मनिर्भरतामा पारेको सकारात्मक प्रभावबारे चर्चा गरे। यो योजना राष्ट्रिय ग्रामीण आजीविका मिशन अन्तर्गत जोडिएको बताइएको छ।

यस परियोजनाको सफलता स्वरूप 'घरेलु ओरिजिन' नामक सामुदायिक उद्यमको स्थापना गरिएको छ, जसलाई डीडब्ल्युएसले सहयोग गरिरहेको छ। नयाँ दिल्लीमा आयोजित 'सरस आजीविका मेला' मा 'घरेलु ओरिजिन' का उत्पादनहरूले धेरै प्रशंसा पाएका थिए। कार्यक्रममा घरेलु ओरिजिनको वेबसाइट र घरेलु ओरिजिनको उत्पादनहरूको क्याटलग पनि सार्वजनिक गरियो, जसले अब ती उत्पादनहरूलाई ठूलो बजारमा सहज रूपमा उपलब्ध गराउनेछ। अब ती उत्पादनहरू वेबसाइट https://www.ghareluorigins.in प्रयोग गरेर सजिलै पाउन सकिन्छ।

सांसद श्रृंगलाले भने, २०२४ मा कार्यक्रम शरु भएदेखि ठूलो प्रगति भएको छ, र सहभागी दिदीहरूले अत्यन्त मेहनत गरेर राम्रो उत्पादन गरेका छन्। उनले सहभागीहरूलाई प्रेरित गर्दै भने, “हाम्रा दिदीहरूले केवल लाखपति बन्ने लक्ष्य नराखून्, उनीहरू करोड़पति बन्ने लक्ष्य राखून्।” उनले दार्जिलिङ वेलफेयर सोसाइटीको उद्देश्य स्थानीय उद्यमशीलतालाई निरन्तरता दिई परम्परागत सीमाभन्दा बाहिर विस्तार गर्ने रहेको पनि पुनः दोहोऱ्याए।

गेट्स फाउन्डेशनको तर्फबाट हरी मेनन भने, गेट्स फाउन्डेशनले भारतमा मुख्य रूपमा आजीविकाको अवसर, विशेष गरी महिलाहरूका लागि, प्रदान गर्ने उद्देश्यका साथ काम शुरु गरेको हो। श्री हर्षवर्धन श्रृंगलाको आग्रहपछि गेट्स फाउन्डेशनले ग्रान्ट थर्नटनलाई आजीविका परियोजनामा सहभागी गरायो, र अहिले यो परियोजना निकै सफल भएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande