
खरसाङ, 30 नोभेम्बर (हि.स.)। खरसाङको वार्ड नम्बर 10 को बुद्ध ग्रामस्थित सुरभि परिवारले 25 वर्ष पुगेको अवसरमा रजत जयन्ती अन्तर्गत नानीहरुका लागि म्याराथनको आयोजना गरिने भएको छ। 2000 सालमा स्थापना भएको सुरभि परिवारले आइतवार खरसाङमा एक पत्रकार सम्मेलन आयोजना गरेर उक्त जानकारी गराए।
क्षेत्रीय सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा सुरभि परिवारका सभापति रिता प्रधान, सचिव नर्बु गोले, सह सचिव ईशा गुरुङ थापा, कानुनी सल्लाहकार रतन शेर्पा, कोषाध्यक्षा बन्दना छेत्री आदिले रजत जयन्तीको अवसरमा आगामी 28 दिसम्बर, 2025 मा नानीहरुका लागि म्याराथनको आयोजना गरिने जानकारी गराए। उक्त म्याराथन खरसाङको वार्ड नम्बर 10 मा अवस्थित बुद्ध ग्रामबाट शुरु भएर मन्टिभियट हुँदै बाइपास रोड भएर पंखाबारी रोडबाट खरसाङ बजार हुँदै पार्क लोकेशन भएर पुन: बुद्ध ग्राममा पुगेर समाप्त हुनेछ।
उक्त म्याराथन 6 वर्षदेखि 9 र 10 देखि 12 वर्षसम्म गरेर दुईवटा क्याटोगरीमा आयोजना गरिने छ भने यसका लागि 1 दिसम्बरदेखि 15 दिसम्बरसम्म पञ्जीकरण गर्नुपर्ने बताइएको छ। क्षेत्रीय सभासद श्याम शेर्पा लगायत सुरभि परिवारका पदाधिकारीहरूले खरसाङ र वरपरका नानीहरुलाई म्याराथनमा सहभागिताको लागि आह्वान् गरेका छन्।
सुरभि परिवारले आफ्नो रजत जयन्तीको उपलक्ष्यमा नानीहरुलाई सामाजिक सञ्जालबाट टाडा राख्न साथै नानीहरुलाई सिर्जनात्मक कार्यमा संलग्न गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिरहेको बताएको छ। सभासद शेर्पाले सुरभि परिवारलाई रजत जयन्तीको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक