
गान्तोक, 29 नोभेम्बर (हि.स.)। सिक्किम स्टुडेन्ट्स एसोसिएशन दिल्लीको वर्ष 2025–26 का लागि आज न्यू सिक्किम हाउस, दिल्लीमा सफलतापूर्वक आम चुनाउ सम्पन्न भयो। सिक्किम हाउसका अतिरिक्त आवास आयुक्त सुनिल कुमारको उपस्थितिमा चुनाउ सम्पन्न गरिएको थियो। उनको उपस्थितिले चुनावी प्रक्रियाको पारदर्शिता र सुचारू सञ्चालन सुनिश्चित गरेको आज विज्ञप्तिमा बताइएको छ।
चुनाउमा बिन्दास छेत्री निर्विरोध संघको अध्यक्ष निर्वाचित भएका छन्। उनी हाल दिल्ली विश्वविद्यालयबाट राजनीति विज्ञानमा एमए गरिरहेका छन्। यसैगरी, छिरिङ डोमा शेर्पा उपाध्यक्ष, नेहाल राई महासचिव, निसर पालसङ संयुक्त सचिव, छितेन वाङचुक शेर्पा कोषाध्यक्ष, छेवाङ छुकी लाचेनपा सांस्कृतिक सचिव, यस्से दोर्जी शेर्पा पीआर हेड, नेडुप जाङ्गमो भोटिया र कुङ्गा दोर्जी भोटिया खेल सचिव, हिस्से ग्याल्पो भोटिया सोशल मिडिया प्रमुख र ल्हायाङ शेर्पा महिना समन्वयक निर्वाचित भएका छन्।
यस अवसरमा एसोसिएशनको उत्थानको लागि अथक प्रयास एवं योगदान दिने निर्वतमान कार्यकारी सदस्यहरूलाई स्मृति चिह्न प्रदान गरेर सम्मानित गरियो। विगतको कार्यकालमा उनीहरूको समर्पणलाई सबै सदस्यहरूले स्वीकार र प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ।
चुनाउको परिणाम घोषणासॅंगै अब नयॉं कार्यकारी समितिले आफ्नो कार्यभार सम्हाल्ने र दिल्लीमा सिक्किमे विद्यार्थीहरूको कल्याण, प्रतिनिधित्व र सांस्कृतिक उत्थानको लागि काम गर्ने जनाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल