
यस वर्ष भारत–युरोपेली संघ मुक्त व्यापार सम्झौतालाई अन्तिम रूप दिने लक्ष्य
बुखारेस्ट, ४ नोभेम्बर (हि.स.)।
भारतका केन्द्रिय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र रोमानियाकी विदेश मन्त्री ओआना–सिल्भिया त्सोइउ बीच मंगलबार बुखारेस्टमा भएको द्विपक्षीय बैठकमा दुबै देशले व्यापार, लगानी र आपूर्ति श्रृंखला सहयोग सुदृढ गर्ने सहमति जनाए। बैठकमा यस वर्ष नै भारत–युरोपेली संघ (ईयू) मुक्त व्यापार सम्झौता (एफटीए) लाई अन्तिम रूप दिने निर्णय पनि गरियो।
वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार, बैठकमा ऊर्जा, इन्जिनियरिङ, औषधि तथा सिरामिक जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भयो। साथै, लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्ने र बजारसम्म पुग्ने पहुँच सजिलो बनाउने कदमहरूमा पनि सहमति भएको छ।
बैठकका क्रममा दुबै देशबीचका आर्थिक सम्बन्धहरूको समीक्षा पनि गरियो। वित्त वर्ष २०२४–२५ मा भारतको रोमानियातर्फ निर्यात १.०३ अर्ब अमेरिकी डलर नाघेको छ, जबकि २०२३–२४ मा दुबै देशबीचको कुल द्विपक्षीय व्यापार करिब २.९८ अर्ब डलर पुगेको थियो।
बैठकमा आपूर्ति श्रृंखला विविधीकरण, मानक र परीक्षण प्रक्रियाहरू सरल बनाउने, र उत्पादन साझेदारी विस्तार गर्ने विषयमा पनि जोड दिइयो। दुबै पक्षले उच्चस्तरीय सम्पर्क निरन्तर राख्ने, व्यापार प्रक्रियालाई सहज बनाउने, र लगानीकर्ता पहुँच बढाउन नियमित संवादको रूपरेखा तयार गर्ने निर्णय गरे।
हिन्दुस्थान समाचार / भवानी थामी