
कुचबिहार, 8 नोभेम्बर (हि.स.)। विधानसभा चुनाउ आउन अगावै कुचबिहारको तूफानगञ्जमा राजनीतिक तनाउ फैलिएको छ। गए शुक्रवार राती भारतीय जनता पार्टी (भाजपा)-का मण्डल सचिवमाथि हमला भएको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ।
घटना तुफानगञ्जको बलरामपुर चौपथी क्षेत्रमा भएको हो। आरोप छ, तृणमूल कंग्रेस समर्थित असामाजिक तत्वहरूले यस हमलालाई परिणाम दिएका हुन्। तथापि सत्तासिन दल तृणमूलले पनि यस आरोपलाई शिराबाटै खारेज गरेको छ।
हमलामा घाइते भाजपा नेताको नाम अक्षय दास हो जो तूफानगञ्ज विधानसभा क्षेत्रको भाजपा मण्डल-1 का सचिव हुन्। गए शुक्रवार अबेर राती तिनी तूफानगञ्ज शहरदेखि आफ्नो घर तर्फ फर्किरहेका थिए। यसै क्रममा बलरामपुर चौपथीमा पुगेपछि केही युवकहरूले तिनीमाथि अचानक हमला गरे। भाजपाको आरोप छ, हमलाकारीहरूले अक्षय दासलाई लौरो आदिले कुटे जसले गर्दा तिनी गम्भीर रूपमा घाइते भए। हाल तिनलाई तूफानगञ्ज महकुमा अस्पतालमा भर्ती गरिएको छ।
स्थानीय भाजपा नेता जुगल किशोर दासले शनिवार भने, “तृणमूलको धरातल गुमिरहेको छ, त्यसैले यसका समर्थित गुण्डाहरूले अब यस किसिमको प्राणघातक हमला गरिरहेका छन्।” अर्कोतिर स्थानीय तृणमूल नेतृत्वले उक्त आरोपलाई पूर्ण रूपले अस्वीकार गर्दै भने, घटनाको पछाड़ि राजनीतिक षड़यन्त्र लुकेको छ र पार्टीको योसित कुनै सरोकार छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा