
सोरेङ, 8 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले यतिका वर्षसम्म अटल विश्वास र समर्थनका लागि च्याखुङका जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्री आज च्याखुङ खेलमैदानमा आयोजित स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल प्रतियोगिताको फाइनलमा बोल्दै थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा यस ठाउॅंसॅंग लामो समयदेखि सम्बन्ध रहेको उल्लेख गर्दै 1994 देखि 2009 सम्म च्याखुङका जनताले आफूलाई निर्वाचित गरेको स्मरण गरे। उनले आफूमाथि क्षेत्रका जनताको निरन्तर विश्वासप्रति कृतज्ञता व्यक्त गरे।
स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कपको महत्वमाथि प्रकाश पार्दै मुख्यमन्त्रीले स्वर्गीय एलडी काजीप्रति श्रद्धाञ्जलि स्वरूप वर्ष 2008 मा यस प्रतियोगिताको शुरुवात गरिएको बताए। उनले यो प्रतियोगिता आज राज्यको एक प्रतिष्ठित खेलकुद कार्यक्रम बनेको बताए जसले एकता, खेल भावना र युवा सहभागितालाई बढावा दिइरहेको छ भने। उनले यस वर्षको सफल प्रतियोगिता आयोजनका लागि आयोजक समितिको सराहना गरे।
मुख्यमन्त्रीले खेलकुदको माध्यमद्वारा स्वास्थ्य र युवा संलग्नतालाई बढावा दिन आयोजित च्याखुङ रनको पनि सराहना गरे। उनले राज्यका युवाहरूको उत्थान र सशक्तिकरणलाई लागि राज्य सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताए। उनले सशक्त अनि अझ समावेशी सिक्किम निर्माणको लागि सरकारले खेलकुद, स्वास्थ्य, शिक्षा र सामाजिक कल्याणलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए।
यसै क्रममा मुख्यमन्त्रीले 'च्याखुङ रन सिक्किम' लाई आगामी वर्षहरूमा अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे। उनले यो कार्यक्रम स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कपकै एक भागको रूपमा राज्य खेलकुद एवं युवा मामिला विभागको निगरानीमा आयोजना गरिने बताए। उनले सोरेङ जिल्लामा जारी विभिन्न विकासीय परियोजनाहरूमाथि पनि प्रकाश पारेका थिए।
कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ, विधानसभा उपाध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल