
खरसाङ, 1 दिसम्बर (हि.स.)। खरसाङको रोहिणी रोड बन्द भएकाले रोहिणी क्षेत्रका होटल व्यवसाय लगायत अन्य विभिन्न व्यवसायहरु ठप्प भएको विषयमा आज रोहिणी क्षेत्रका व्यवसायीहरु, समाजका प्रतिनिधिहरु र अन्य मिलेर खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्। आज रोहिणी व्यवसाय समितिका सभापति पुनम तामाङको अगुवाईमा समितिका पदाधिकारीहरू लगायत रोहिणी क्षेत्रका समाज र बुद्धिजीवीहरु मिलेर खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाए। उक्त ज्ञापन पत्रमा रोहिणी मुख्य सडकको तत्काल पुन:स्थापना तथा गौरी शंकर मार्गमार्फत् अस्थायी सवारी साधन व्यवस्था सम्बन्धी माग उल्लेख गरिएको छ।
टोलीले मरमत्तिको कार्य चलिरहेको रोहिणी रोडको पनि निरीक्षण गरेका थिए। ज्ञापन पत्र खरसाङ महकुमा शासक लगायत खरसाङ पुलिस थानाका आईसीलाई पनि कपि बुझाइएको रोहिणी व्यवसाय समितिका सचिन खातीले बताएका छन्। उनले रोहिणी रोड पैह्रोले वाधित बनेपछि हालमा रोहिणी रोडमा चलिरहेको एक सय जति होटेलहरु ठप्प भएको साथै त्यहाँ कार्यरत् 500 जना जति कर्मचारीहरु बेरोजगार बनेको र तत्काल रोहिणी रोड नखोलिए लथालिङ्गै हुने बताएका छन्।
उनले रोहिणी रोड पैह्रोले वाधित बनेपछि बनाउन ढिलाई भइरहेको र मरमत्ति गर्न ढिलाई भए पनि हालको लागि खरसाङको गौरी शंकर चियाबारीबाट र गिद्ध पहाड भएर रोहिणी निस्कने रोड खोलेर गाडीहरु अस्थायी रुपमा जान दिन सकिने अनुरोध गरेका छन्।
खातीले अबको 5-6 दिनमा पनि अस्थायी रुपमा रोहिणी रोड नखोलिए रोहिणीदेखि विराट विरोध प्रदर्शन शुरु गरिने चेताउनी दिएका छन्। खातीले भने, अस्थायी रोड खोलाउन सक्ने प्रशस्त सम्भावना छ र यसको लागि झट्टै पहल गरिनुपर्छ। उनले रोहिणी रोडमा रहेको टोल प्लाजामा दैनिक धेरै गाडीहरुबाट शुल्क उठाइन्थ्यो, तर अहिले रोड खोलाउन पर्ने बेलामा सबै चुपचाप रहेकोमा प्रश्न उठाए। ----
हिन्दुस्थान समाचार / हनोक