
खरसाङ, 1 दिसम्बर (हि.स.)। सेन्ट्रल फर स्ट्रगलिङ ट्रेड यूनियन्स (सीएसटीयू) दार्जिलिङ हिल्स-तराई-डुवर्स क्षेत्रको प्रथम सम्मेलन खरसाङको बरबुङ बस्तीमा युनियनका सक्रिय सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो। सम्मेलनमा युनियनका सक्रिय सदस्यहरूमध्ये सीएसटीयूको घटक यूनियन एइचपीइयुका सदस्यहरूबाहेक पनि अन्य उद्योग र असङ्गठित श्रमिक प्रतिनिधि अनि कार्यकर्ताहरू उपस्थित थिए।
युनियनको झण्डा उत्तोलन गरेर शुरू गरिएको प्रथम क्षेत्रीय सम्मेलनमा सीएसटीयु केन्द्रिय अध्यक्ष अमिताभ भट्टाचार्य, कार्यकारिणी समिति सदस्य सुधा तामाङ, युनियन कार्यकर्ता छेवाङ योञ्जन अध्यक्ष मण्डलीमा बसे भने तनुजा लामा, शमीक चक्रबर्ती र सुमेन्द्र तामाङले स्टियरिङ कमिटीको दायित्व सम्भाले। यस अवसरमा लाली गुराँस समूहका युवाहरूले जनवादी गीत प्रस्तुत गरेका थिए।
सीएसटीयु केन्द्रिय उपाध्यक्ष सुमेन्द्र तामाङले युनियनको क्षेत्रीय रिपोर्ट प्रस्तुत गरे अनि शमीक चक्रबर्तीले सीएसटीयुको सङ्गठनिक संरचना, भूमिका र कार्यप्रणालीबारे प्रकाश पारे। लङभ्यू, मार्गरेटस् होप, बालासन, रिङटङ, बडा फागु, तुङसुङ आदि चियाबगानहरूबाट अनि दार्जिलिङ बजार लगायत विभिन्न ठाउँका असङ्गठित श्रमिक र अन्य युनियन प्रतिनिधिहरूले सीएसटीयु गठनको महत्त्वबारे वक्तव्य राखेका थिए।
सम्मेलनमा सीएसटीयूको दार्जिलिङ हिल्स-तराई-डुवर्स क्षेत्रीय समितिमा 13 जना प्रतिनिधिहरू चयन गरियो, जसमा अध्यक्ष सुमेन्द्र तामाङ, सचिव छेवाङ योञ्जन, उपाध्यक्षमा सुधा तामाङ, शमीक चक्रबर्ती, सहसचिवमा तनुजा लामा, सुमित देवान, कोषाध्यक्षमा उज्जल छेत्री सामेल छन्।
सीएसटीयु केन्द्रिय समिति अध्यक्ष अमिताभ भट्टाचार्यले नयाँ लेवर कोडहरूबारे जानकारी दिँदै वर्तमान सत्ता र सरकारले श्रमिक विरोधी नीतिहरू पारित गरेकोमा भत्सर्ना जनाए। उनले नयाँ श्रम कोड र श्रम कानूनहरू मालिक पक्षीय रहेको बताए। सम्मेलन समाप्त भएपछि उपस्थित श्रमिक प्रतिनिधिहरूले नयाँ लेबर कोडको खेस्रा जलाएर श्रमिक विरोधी श्रमसंहिता अर्थात् लेबरकोडको विरोध गरे भने यसबारे प्रचार र विरोध कार्यक्रमहरू जारी नै रहने बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक