मन्त्री राईले किचुडुमरा पिकेट पोस्टको उद्घाटन गरे
मन्त्री राईले किचुडुमरा पिकेट पोस्टको उद्घाटन गरे


नाम्ची, 1 दिसम्बर (हि.स.)। नाम्ची पुलिस स्टेशन अन्तर्गत किचुडुमरास्थित बिरधाङ ब्रिजमा आज शहरी विकास विभाग मन्त्री भोजराज राईले नयॉं किचुडुमरा पिकेट पोस्टको उद्घाटन गरे। उद्घाटन समारोहमा नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक कर्म ग्याम्चो भोटिया, एएसपी बिकास तिवारी, नाम्चीका एसएचओ आशिष भुजेल, पुलिस कर्मीहरू, सम्बन्धित अधिकारीहरू र स्थानीय जनसाधारण उपस्थित थिए।

मन्त्री राईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै यो पिकेट पोस्ट समयको माग रहेको बताउॅंदै यसको स्थापनाको लागि पुलिस विभाग र स्थानीय जनसाधारणको संयुक्त प्रयासको सराहना गरे। यस पिकेट पोस्टको रणनीतिक महत्वमाथि प्रकाश पार्दै उनले विभिन्न अन्तर जिल्ला गैर कानूनी गतिविधिहरू भइरहेको अवस्थामा कानुन एवं व्यवस्था सुनिश्चित गर्न यस सुविधाको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले चौकीको स्थापना गर्न पुलिस विभागले देखाएको चासो र पहलको पनि प्रशंसा गरे भने यो सुविधाले लागूपदार्थको ओसारपसार नियन्त्रण गर्ने प्रयासहरूलाई बलियो बनाउने आशा व्यक्त गरे। उनले लागूपदार्थ विरुद्धको जारी लडाईमा विभागको उल्लेखनीय उपलब्धिहरूको सराहना गर्दै जनतालाई सकारात्मक र रचनात्मक मार्गमा डोऱ्याउने आफ्नो प्रतिबद्धतालाई पुन: दोहोऱ्याए।

यसैगरी, वरिष्ठ पुलिस अधीक्षक भोटियाले पिकेट पोस्टको स्थापना गर्न योगदान दिने पोकलोक कामराङका स्थानीय युवाहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले स्थानीय जनता र पुलिस विभागको बलियो साझेदारीकै फलस्वरूप यो सुविधा स्थापना हुन सकेको बताए। उनले क्षेत्रको सुरक्षाको लागि यस सुविधाको माध्यमद्वारा कानुन एवं व्यवस्था सुनिश्चित गर्ने आश्वासन दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande