स्थानीय गाउॅंलेहरूको दृढ़ इच्छाशक्तिमा दोजक मुख्य पर्यटकीय गन्तव्य बन्दै
स्थानीय गाउॅंलेहरूको दृढ़ इच्छाशक्तिमा दोजक मुख्य पर्यटकीय गन्तव्य बन्दै


गान्तोक, 11 दिसम्बर (हि.स.)। दक्षिण सिक्किमको दोजक मुख्य पर्यटकीय गन्तव्य बन्दैछ। विशेषगरी ढुङ्गाको विशेष कला-कौशलका लागि परिचित दोजकलाई थप सुन्दरीकरण गर्ने उद्देश्यका साथ स्थानीय नागरिक आफैँले श्रमदान गरी यसलाई सिँगार-पटार गर्ने कार्य गरिरहेका छन्। स्थानीयहरूको यस दृढ़ इच्छाशक्तिलाई थप ऊर्जाशील बनाउन आज क्षेत्र विधायक तथा सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा श्रमदानमा अंशग्रहण गरिन्।

आफ्नो सम्बोधनमा उनले दोजकको सुन्दर परिवेश, पर्यटकीय आकर्षण साथै अन्य विविध पक्षको विशेषताको व्याख्या गरिन्। स्थानीय जनताको सक्रिय सहभागिताले दोजक अब पर्यटकीय मुख्य आकर्षण बन्ने विश्वास प्रकट गरिन्। उनले सहभागी सबैलाई बधाई दिॅंदै दोजक गाउँको थप प्रगतिको कामना पनि गरिन्।

आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले यो क्षेत्रलाई एक प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउने स्थानीयवासीको सोँच अनुरूप यो पहल शुरू गरिएको बताए। यहाँ शुरू गरिएको “कान्छाको भान्सा घर” एउटा शसक्त उदाहरण रहेको बताउँदै उनले यस क्षेत्रमा धेरै सङ्ख्यामा पर्यटकहरूको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे।

उनले यो पहल मुख्यमन्त्रीको सुनौलो, समृद्ध र समर्थ सिक्किमको परिकल्पना साकार बन्ने दिशामा एउटा उदाहरण रहेको बताउँदै यो पूर्वाधारले आगामी दिनमा स्थानीयवासीले धेरै लाभ पाउने मन्तव्य राखे। सरकारको सहयोगमा भविष्यमा यहाँ धेरै पूर्वाधारहरू निर्माण हुने कुरा राख्दै उनले यहाँको ऐतिहासिक पृष्ठभूमिमाथि पनि प्रकाश पारे।

कार्यक्रममा एसकेएम प्रचार प्रसार प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधान, एडीसी विकास राभङला, एसडीपीओ राभाङला, जिल्ला पञ्चायत (साङमो) यापचुङ छिरिङ भोटिया, छितेन टाँसी भोटिया, खोप जीपीयुकी पञ्चायत सभापति निर्मला शेर्पा, साङमो जीपीयुका पञ्चायत सभापति एमबी बस्नेत लगायत अन्यको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande