
गान्तोक, 11 दिसम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले संसदको शीतकालीन सत्रमा सिक्किमका 12 छुटेका समुदायको जनजातिको मुद्दा उठाएका छन्। उनले सामाजिक आर्थिक समानतालाई ध्यानमा राख्दै छुटेका समुदायहरूलाई पनि जनजाति घोषित गरियोस् भन्ने माग गरेका छन्।
सांसद सुब्बाले आज लोकसभामा शून्य कालमा सिक्किमका छुटेका 12 समुदायको लम्बित जनजातिको मुद्दा उठाए। उनले आफ्नो सम्बोधनमा सिक्किम भारतको एक अभिन्न अंग बन्दा सिक्किमका भोटिया, लेप्चा र नेपाली सबै एकैसाथ देशको नागरिक बनेको बताए। तर, भोटिया, लेप्चा र पछि 2003 मा लिम्बू र तामाङलाई जनजातिको मान्यता दिइए तापनि 12 छुटेका समुदायले अझै पनि जनजातिको मान्यता नपाएको उनले अवगत गराए।
राज्य सरकारले धेरै अघि देखि 12 लेफ्टआउट एथनिक कम्युनिटीको जनजातिको माग उठाउॅंदै आइरहेको र यस सन्दर्भमा राज्य विधानसभामा प्रस्ताव पनि पारित गरिएको उनले संसदमा जानकारी गराए। उनले सिक्किमको विशेष प्रावधान र सिक्किमको सामाजिक आर्थिक समानतालाई ध्यानमा राख्दै छुटेका 12 समुदायलाई पनि जनजाति घोषित गरियोस् भनी अनुरोध गरे।
हिन्दुस्थान समाचार / बिशाल