एनएफएसएको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जागरूकता तथा समन्वय बैठक सम्पन्न
nfsa


गान्तोक, 11 दिसम्बर (हि.स.)। राज्य खाद्य आयोग र राज्य खाद्य तथा नागरिक आपूर्ति विभागको संयुक्त आयोजनामा एकदिवसीय जागरूकता कार्यक्रम तथा समन्वय बैठक 10 दिसम्बरमा गान्तोकस्थित खाद्य तथा नागरिक आपूर्ति विभागको सम्मेलन कक्षमा सम्पन्न भयो। कार्यक्रमको उद्देश्य राष्ट्रिय खाद्य सुरक्षा ऐन (एनएफएसए) 2013 तथा यसअन्तर्गत रहेका विभिन्न कल्याणकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित विभागहरू र सरोकारवालाबीच समन्वय सुदृढ़ गर्नु रहेको बताइएको छ।

कार्यक्रममा मुख्य अतिथिका रूपमा खाद्य तथा नागरिक आपूर्ति विभागकी सल्लाहकार बीना राई उपस्थित थिइन्। मुख्य अतिथि राईले खाद्य तथा नागरिक आपूर्ति विभागले पीडीएस लाभ तथा कल्याणकारी योजनाहरू सबैभन्दा कमजोर र वास्तविक लाभार्थीसम्म पुर्‍याउन गरेको प्रतिबद्धताको प्रशंसा गरिन्। साथै राज्य खाद्य आयोगको प्रभावकारी अनुगमन संयन्त्रको प्रशंसा गर्दै पञ्चायत स्तरमा यस्तै जागरण कार्यक्रमहरू सञ्चालन गर्न सुझाउ दिइन्।

विभागकी सचिव नोरजिङ्ग छेरिङले आफ्नो सम्बोधनमा राज्य खाद्य आयोगद्वारा आयोजित कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै एनएफएसए अन्तर्गत भइरहेका गतिविधिबारे उपयोगी जानकारी प्राप्त भएको बताइन्। उनले विभागीय अधिकारी तथा सरोकारवाला कसैलाई पनि बञ्चित हुन नदिई, टाड़ाका दुर्गम क्षेत्रसम्म एनएफएसएको लाभ पुर्याउन संयुक्त रूपमा काम गर्न आग्रह गरिन्।

राज्य खाद्य आयोगका अध्यक्ष डा. एसके राईले खाद्य सुरक्षा लाभको पारदर्शी तथा जवाफदेही वितरण सुनिश्चित गर्न आयोगले हालै शुरु गरेका पहलहरूको विवरण प्रस्तुत गरे। उनले विभागलाई निरन्तर सहयोगका लागि धन्यवाद दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande