सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन गर्ने छैनौं: रत्नलाल सापकोटा
सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन गर्ने छैनौं: रत्नलाल सापकोटा


गान्तोक, 11 दिसम्बर (हि.स.)। सिक्किमीज् मूलवासी सुरक्षा संघ (एसएमएसएस) ले हालैमा सम्पन्न भएको सिक्किम बिहारी जागरण मञ्चको 32औं स्थापना दिवस समारोहमा बिरेन्द्र प्रसादले दिएको वक्तव्यको घोर भत्सर्ना जनाएको छ। एसएमएसएसले उक्त दिनको कार्यक्रमलाई सिक्किम बिहारी जागरण मञ्चको षड़यन्त्र ठहर गर्दै संस्थाले सुनियोजित तरिकाले बिरेन्द्र प्रसादलाई बोल्न लगाएको दाबी पनि गरेको छ।

एसएमएसएसका अध्यक्ष रत्नलाल सापकोटाले राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका छन्। उल्लेख्य, रानीपुल छेउ सरम्सा गार्डनमा आयोजित सिक्किम बिहारी जागरण मञ्चको 32औं स्थापना दिवसमा बोल्दै बिरेन्द्र प्रसादले सिक्किममा बिहारी समुदायका सदस्यहरू धेरै अधिकारहरूबाट वन्चित रहेको कुरा राखेका थिए। उक्त कार्यक्रममा सिक्किम सरकारका मन्त्री लगायत विधायकहरूलाई पनि आमन्त्रित गरिएको थियो।

सएमएसएसका अध्यक्ष सापकोटाले स्थापना दिवस कार्यक्रममा सिक्किम सरकारका मन्त्री र विधायकहरूलाई बोलाएर अपमानित गर्ने कार्य गरिएको बताए। बिरेन्द्र प्रसादको वक्तव्यको भत्सर्ना जनाउॅंदै सापकोटाले उनको वक्तव्यलाई संस्थाकै सुनियोजित षड़यन्त्र रहेको आरोप लगाए। कार्यक्रमको भोलि पल्ट संस्थाका पदाधिकारीहरूले बिरेन्द्र प्रसादलाई निष्कासित गरेको विषयमा बोल्दै उनले यसलाई 'म कुटे जस्तो गर्छु, तिमी रोय जस्ता गर्नु' भन्ने भनाई जस्तै रहेको बताए।

उनले बिरेन्द्र प्रसादहरूले सिक्किममा आफ्नो व्यापार चलाइरहॅंदा आफुहरूलाई कुनै आपत्ति नरहेको, तर सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने चुनौती दिए। उनले सिक्किममा व्यापार चलाइरहेका सिक्किमेहरूलाई अधिकार चाहिन्छ भने बिहारमा गएर अधिकार माग्न सुझाउ दिए। उनले सिक्किम र सिक्किमेहरूलाई संविधानको धारा 371एफ ले सुरक्षा प्रदान गरेको छ भन्दै अधिकार चाहिन्छ भने पहिला सीओआई र सिक्किम सब्जेक्ट देखाउनु पर्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande