

- सीमावर्ती क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय समुदायका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य: मुख्यमन्त्री
गान्तोक, 15 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले रणभूमि दर्शन पहल अन्तर्गत सिक्किममा भारत-चीन सीमा क्षेत्रस्थित चो-ला पास र डोक-ला पासलाई पर्यटनका लागि औपचारिक रूपमा खुल्ला भएको घोषणा गरेका छन्। मुख्यमन्त्रीले सोमवार बिहान राजधानीको रिज पार्कमा आयोजित एक समारोहमा २५ वटा मोटरसाइकल र सवारी साधनलाई झण्डा देखाएर यस पहलको औपचारिक रूपमा शुभारम्भ गरे।
पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले चो-ला पास र डोक-ला पासको उद्घाटन भाइब्रेन्ट भिलेज कार्यक्रम अन्तर्गत गरिएको बताए। यसले सीमावर्ती क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न तथा विनियमित पर्यटन गतिविधिमार्फत स्थानीय समुदायका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य राखेको उनले जानकारी गराए। उनले केन्द्र सरकार, राज्य सरकार तथा सेनाबीचको समन्वयका कारण यो पहल सम्भव भएको बताए।
मुख्यमन्त्रीले रणभूमि दर्शनको उल्लेख गर्दै यस पहलले रणनीतिक रूपमा महत्वपूर्ण सीमावर्ती क्षेत्रहरूलाई विनियमित पर्यटनमार्फत खोल्दै ती क्षेत्रहरूको ऐतिहासिक तथा सैनिक महत्वलाई उजागर गर्ने उद्देश्य राखेको बताए। उनले युद्धभूमि पर्यटनको व्यापक अवधारणा अन्तर्गत परिकल्पित यस कार्यक्रमले सशस्त्र बलको वीरता र बलिदानप्रति जनचेतना अभिवृद्धि गर्ने, पर्यटकहरूमा देशभक्तिको भावना जगाउने तथा कड़ा सुरक्षा र पर्यावरणीय मापदण्ड कायम राख्दै स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्नु रहेको बताए।
मुख्यमन्त्रीले सो क्षेत्रमा पूर्वाधार विकास कार्य तीव्र गतिमा भइरहेको र पर्यटन गतिविधिलाई सहयोग पुर्याउन आवश्यक सुविधा उपलब्ध गराइने पनि जानकारी दिए। उनले रणभूमि दर्शन अन्तर्गत सेनाद्वारा आयोजना गरिएको सुपर कार र्यालीले पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको उल्लेख गरे। उनले भारतीय सेनाका अधिकारी मेजर जनरल एमएस राठोड़, उनको टोली र आयोजनासँग सम्बन्धित सम्पूर्ण टोलीलाई सफल आयोजनाका लागि धन्यवाद दिए।
राज्य पर्यटन एवं नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावले पछिल्लो दुई महिनादेखि विभागले सेनासँगको समन्वयमा यी पासहरू पर्यटनका लागि खोल्न निरन्तर काम गरिरहेको बताए। उनले पूर्वाधार विकास कार्य जारी रहेको भए पनि आधारभूत सुविधा पहिले नै उपलब्ध गराइसकिएको बताए। उनले रणभूमि दर्शन सर्किटलाई युद्धभूमि पर्यटन अनुभवका रूपमा दुई दिने प्याकेजका रूपमा सञ्चालन गरिने जानकारी गराए। यस अन्तर्गत न्यूनतम शुल्कमा होमस्टे सुविधा तथा निश्चित गाड़ी भाडा निर्धारित रहेको पनि उनले जानकारी दिए।
कार्यक्रमको आयोजना राज्य पर्यटन तथा नागरिक उड्डयन विभागले रणभूमि दर्शन पहल अन्तर्गत गरेको थियो। यस उद्घाटनसँगै सम्बन्धित निकायहरूको समन्वयमा चो-ला र डोक-ला पासतर्फ विनियमित पर्यटन गतिविधि औपचारिक रूपमा शुरु भएको छ।
यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री टीटी भोटिया, विधायक सुदेश सुब्बा, विधायक तेन्जिङ नर्बु लाम्था, सिक्किम पर्यटन विकास निगम (एसटीडीसी) का सल्लाहकार लुकेन्द्र रसाइली, पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव र सेनाका अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल