
मथुरा (उत्तर प्रदेश), १६ दिसम्बर (हि.स.)। दिल्ली–आगरा यमुना एक्सप्रेस–वेअन्तर्गत मथुरा जिल्लामा आज बिहान भएको भीषण दुर्घटनामा सातवटा बस र तीनवटा कार आपसमा ठोक्किँदा आगलागी भएको छ, जसका कारण ठूलो जनधनको क्षति भएको छ। दमकल विभागले आगो नियन्त्रणमा लिइसकेको छ। घटनास्थलमा जिल्ला अधिकारी, वरिष्ठ पुलिस अधीक्षक श्लोक कुमारलगायत अन्य अधिकारीहरू उपस्थित छन्।
अधिकारीहरूका अनुसार, घना कुहिरोका कारण सात बस र तीन कार एकआपसमा ठोक्किएपछि ती सवारीसाधनहरूमा आगो लागेको हो। यस दुर्घटनामा हालसम्म ६ जनाको मृत्यु पुष्टि भएको छ भने २५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। प्रभावित एक्सप्रेस–वे खण्डमा यातायात अस्थायी रूपमा रोकिएको छ।
मथुराका वरिष्ठ पुलिस अधीक्षक कुमारले जानकारी दिँदै भने, “सात बस र तीन कार एकआपसमा ठोक्किएपछि सबै सवारीसाधनमा आगो फैलिएको थियो। दुर्घटनापछि घटनास्थलमा होहल्ला मच्चियो। राहत तथा उद्धार कार्य प्रायः पूरा भइसकेको छ। घाइते २५ जनालाई अस्पतालमा भर्ना गरिएको छ र सबैको अवस्था स्थिर रहेको छ। मृतकका शवहरू पोस्टमार्टमका लागि पठाइएको छ।
मुख्यमन्त्रीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति दुई–दुई लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। साथै घाइतेहरूको उचित र उत्तम उपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छ। जिल्ला अधिकारीका अनुसार, घाइते व्यक्तिहरूको उपचार अस्पतालमा जारी छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी