
गान्तोक, 19 दिसम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज केन्द्रिय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीसँग उनको दिल्ली निवासमा भेट गरी सिक्किममा भारतीय खाद्य निगम (एफसीआई) को क्षेत्रीय कार्यालय स्थापनाको मागसहित औपचारिक पत्र बुझाएका छन्। हाल सिक्किमको व्यवस्थापन कोलकाता क्षेत्रीय कार्यालयमार्फत हुँदै आएको छ।
भेटका क्रममा सांसद सुब्बाले हिमाली राज्य सिक्किमले भोग्दै आएको विशिष्ट भौगोलिक र ढुवानीसम्बन्धी चुनौतीहरूबारे मन्त्रीलाई अवगत गराए। उनले राज्यमा एफसीआईको क्षेत्रीय कार्यालय नहुँदा कार्य सञ्चालनमा ढिलाई र समन्वयसम्बन्धी समस्या उत्पन्न हुने गरेको अवगत गराउंदै यसले खाद्य सुरक्षा योजनाहरू र सार्वजनिक वितरण प्रणालीको प्रभावकारी कार्यान्वयनमा असर पारिरहेको बताए।
सांसद सुब्बाले सिक्किममा छुट्टै एफसीआई क्षेत्रीय कार्यालय स्थापना गरिएमा खाद्य सुरक्षा अझ मजबुत हुने, राज्य सरकारसँगको समन्वय सुदृढ़ हुने, खाद्यान्नको समयमै ढुवानी र भण्डारण सुनिश्चित हुने, साथै दुर्गम र सीमावर्ती क्षेत्रहरूमा सेवा प्रवाहमा प्रशासनिक दक्षता बढ्ने स्पष्ट केन्द्रिय मन्त्रीलाई बताए।
केन्द्रिय मन्त्री प्रह्लाद जोशीले सांसदद्वारा उठाइएका विषयहरू ध्यानपूर्वक सुन्दै यस विषयलाई सकारात्मक रूपमा अध्ययन गरिने आश्वासन दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल