
पाकिम, 2 दिसम्बर (हि.स.)। सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याण योजना अन्तर्ग आज पाकिम जिल्ला प्रशासन केन्द्रको सम्मेलन कक्षमा जिल्लाका भूमिहीन लाभार्थीहरूलाई जमीनको पर्चा वितरण कार्यक्रम सम्पन्न भयो। दुई चरणमा सम्पन्न भएको यस वितरण कार्यक्रमको अपरान्हको कार्यक्रममा शिक्षा, खेलकुद तथा युवा मामिला विभाग, कानुन तथा संसदीय मामिला विभागका मन्त्री राजु बस्नेतले नाम्चेबुङ क्षेत्रका ११ भूमिहीन परिवारहरूलाई जमीको पर्चा प्रदान गरे।
यस अघि बिहानको कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागकी सल्लाहकार तथा विधायक पामिन लेप्चाले २० जना लाभार्थी परिवारहरूलाई जमीनको पर्चा प्रदान गरेकी थिइन्, जसमा ८ जना रिनाक क्षेत्रबाट र १२ जना नाथाङ माछोङ क्षेत्रबाट रहेका थिए।
यस कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रभा प्रधान, पाकिमका जिलापाल रोहन अगवाने, महकुमा अधिकारी (मुख्यालय) थेनडुप लेप्चा, महकुमा अधिकारी पाकिम डकमान सुब्बा, सिक्किम राज्य लटरी निदेशालयका ओएसडी सन्तोषकुमार प्रधान, सूचना प्रविधि विभागका ओएसडी बुमछिरिङ योञ्जन, आरओ/एडी पाकिम किरण छेत्री तथा मुख्यमन्त्रीका सीए उर्गेन लेप्चाको उपस्थिति थियो।
उल्लेखनीय छ, यस पर्चा वितरण कार्यक्रमले भूमिहीन परिवारहरूलाई कानुनी रूपमा जग्गा स्वामित्व प्रदान गर्दै आर्थिक रूपमा कमजोर परिवारहरूको सुरक्षा तथा स्थायित्व सुनिश्चित गर्ने, साथै स्थायी आवास निर्माण तथा दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।
हिन्दुस्थान समाचार / बिशाल