
गान्तोक, 2 दिसम्बर (हि.स.)।गान्तोक जिल्ला अन्तर्गत जलविद्युत परियोजनाहरू स्नेहा काइनेटिक पावर प्रोजेक्ट (ग्रीनको) र एनएचपीसी (तीस्ता स्टेज–V) को द्वैमासिक अनुगमन हिजो एक दिसम्बरका दिन सम्पन्न भयो। जिल्ला स्तरिय सुरक्षा अनुगमन समितिद्वारा गरिएको अनुगमनको नेतृत्व गान्तोकका एडीसी सिसुम वाङचुक भोटियाले गरेको थियो।
अनुगमन टोलीले स्नेहा काइनेटिक पावर प्रोजेक्ट लिमिटेड र एनएचपीसी (तीस्ता स्टेज–V) का प्लान्ट हेड तथा प्राविधिक टोलीहरूको उपस्थितिमा काइनेटिक पावर प्रोजेक्ट प्रालिमा आगलागी सुरक्षा उपकरण र आपत्कालीन प्रतिक्रिया प्रणालीको उपलब्धता तथा कार्यशीलताको मूल्यांकन गर्यो। यस अवधि धेरैजसो आगलागी सुरक्षा उपकरण तथा आपतकालीन प्रणालीहरू कार्यशील अवस्थामा भेटिए, यद्यपि स्मोक बम्बको परीक्षण आगामी मोक ड्रिलको क्रममा गर्ने निर्णय गरियो। कन्ट्रोल रूमको छाना तुरुन्त मर्मत आवश्यक रहेको पाइयो, जसले सम्भावित जोखिम उत्पन्न गर्न सक्छ।
केही मेसिनहरू अस्थायी प्लास्टिकले ढाकिएको पाइएकाले स्थायी र टिकाउ सुरक्षा समाधानमा परिवर्तन गर्न निर्देशन दिइयो। परियोजना व्यवस्थापनलाई कार्यस्थलमा आकस्मिक अवस्थामा प्रभावकारी प्रतिक्रिया दिन आवश्यक जीवन–रक्षक प्रशिक्षण श्रमिकहरूलाई गराउन परामर्श दिइयो।
यसैगरी, एनएचपीसी (तीस्ता स्टेज–V) मा अनुगमनका क्रममा एनएचपीसीले व्यापक आपदा प्रबन्धन योजना तथा एसपी छिटोभन्दा छिटो तयार गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखियो। ग्राउण्ड फ्लोरमा रहेका फायर होज रीलहरू कार्यरहित अवस्थामा पाईए, जसको तत्काल मर्मत अत्यावश्यक छ। आकस्मिक अवस्थामा सञ्चार अत्यन्त महत्वपूर्ण हुने भएकाले अबाधित सञ्चार सुनिश्चित गर्न अप्टिकल फाइबर केबल जडान गर्न सुझाउ दिइयो। धेरै आगलागी सुरक्षा उपकरण तथा मेसिनहरू कार्यरहित अवस्थामा पाइए, जसको तत्काल पुनःस्थापना र मर्मत आवश्यक छ।
अनुगमन टोलीले दुवै परियोजनामा अग्नि सुरक्षा, सञ्चार प्रणाली तथा आपतकालीन तयारीका विषयमा महत्वपूर्ण कमजोरीहरू रहेको जनाएको छ। सुरक्षा मापदण्ड पालना तथा आपदा तयारी सुदृढ़ गर्न तत्काल सुधारात्मक कदमहरू अनिवार्य पाइएको छ। दुवै स्नेहा काइनेटिक पावर प्रोजेक्ट प्रा. लि. र एनएचपीसीलाई पहिचान गरिएका समस्याहरू चाँडोभन्दा चाँडो समाधान गरी जिल्ला प्रशासनलाई अनुपालन प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल