
मुर्शिदाबाद, 2 दिसम्बर (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीको मुर्शिदाबाद दौड़ाहपूर्व भरतपुरका तृणमूल कंग्रेस विधायक हुमायुँ कबीर फेरि एक पटक आफ्नो विवादित बयानको कारणले चर्चामा छन्। हुमायुँ कबीरमाथि बेलडांगाको एसडीपीओलाई धम्काएको तथा पुलिसलाई ‘आरएसएसको दलाल’ भनेर लक्षित गरेको आरोप लागेको छ। सम्पूर्ण मामिलामा एसडीपीओले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।
मंगलवार हुमायुँ कबीरले चेताउनीपूर्ण भाषामा भने,
“आगोसित नखेलियोस्। म मुर्शिदाबाद जिल्लाको पुलिस-प्रशासनलाई स्पष्ट चेताउनी दिरहेको छु। एसडीपीओ उत्तम गोराई, याद रख्नुहोस् यो मुर्शिदाबाद हो। तपाईले भगवानगोलामा धेरै दादागिरी गरिसक्नु भएको छ, धेरैजनाको जीवन बर्बाद गरेको छ। म तपाईको सम्पूर्ण इतिहास जान्दछु। हुमायुँ कबीरसित निहुँ नखोज्नुहोस्। तपाईको कलर समातेको दिन तपाईलाई बचाउन कोही हुनेवाला छैन।”
आफ्नो बयानमा उनले पुलिस प्रशासनमाथि आरोप लगाउँदै भने, “ बेलडांगामा कार्तिक पूजा औ जगद्धात्री पूजा हुँदा यो पुलिस- ममता ब्यनर्जीको पुलिसले पूर्ण निष्ठाले काम गर्छ। तर मैले एक वर्ष अगाड़ि नै बेलडांगामा बाबरी मस्जिदको शिलान्यास गर्ने घोषणा गर्दा सबैको भुँड़ी दुःखाई शुरू भयो। के पुलिस भाजपा र आरएसएसको इशारामा चलिरहेको छ? मुसलमानले तपाईहरूलाई भोट दिएर चुन्छ, तपाईहरू भने आरएसएसको दलाली गर्नुहुन्छ?”
हुमायुँ कबीरले अझ भने, “आगामी 6 दिसम्बरमा रेजिनगरदेखि बह्रमपुरसम्म सम्पूर्ण राष्ट्रिय राजमार्ग मेरो कब्जामा हुनेछ, मुसलमानहरूको कब्जामा हुनेछ।”
उनको यो बयान कानून-व्यवस्थाको लागि गम्भीर चिन्ताको विषय भएको छ। यस घटनाले मुर्शिदाबादको राजनीतिक माहोललाई अझ बढ़ी तनाउपूर्ण बनाइदिएको छ। विपक्षले यसलाई प्रशासनलाई धम्काएको अनि धार्मिक ध्रुवीकरण गर्ने प्रयास बताइरहेको छ भने मुख्यमन्त्रीको भ्रमण हुन ठीकअघि यस्तो विवादले तृणमूल कंग्रेसलाई असहज स्थितिमा पारेको छ।
टीएमसीका सांसद कल्याण बन्द्योपाध्यायले हुमायुँ कबीरमाथि कटाक्ष गर्दै भने, “ती विधायकको कुनै मूल्य छैन। पश्चिम बंगालका जनताले सबैभन्दा अधिक भरोसा गर्ने व्यक्ति नै ममता ब्यनर्जी हुन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा