
गान्तोक, 2 दिसम्बर (हि.स.)। प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले असमको दिफुका पत्रकार सैदुल इस्लामको आइतबार सिक्किममा असामयिक निधन भएकोमा गहिरो शोक व्यक्त गरेको छ। पीसीएसले शोक सन्तप्त परिवार, सहकर्मी र इष्टमित्रहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ।
पीसीएसका प्रचार सचिव पंकज ढुङ्गेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, हिल्स भ्यू टुडेका संस्थापक र गण अधिकारका संवाददाता तथा पहिले ईटीभी भारत र असम टाइम्स पोस्टसँग सम्बन्धित इस्लाम कार्बी आङ्लोङका वरिष्ठ पत्रकारहरूसँग सिक्किम भ्रमणमा आएका थिए। पत्रकारहरूको समूह 30 नोभेम्बर अबेर राति सिक्किम आइपुगेको थियो।
कार्बी आङ्लोङको जिल्ला प्रेस क्लबका कार्यवाहक अध्यक्ष डेनियलसन बेका अनुसार, टोलीले 1 दिसम्बरदेखि आफ्नो भ्रमण शुरु गरेको थियो र दिनको शुरुवात स्थानीय झरनाबाट गरेको थियो। आफ्नो लजमा फर्केपछि इस्लाम अचानक दिउँसो लगभग १२:४० बजी गान्तोकको बोझोघारीस्थित गोन्जाङ गुम्पा नजिकै बेहोश भएर ढले। सहकर्मीहरूले उनलाई हृदयघातको आशंकामा तुरुन्तै गान्तोकको एसटीएनएम अस्पताल लिएर गए। दुर्भाग्यवश, उनको बाटोमै मृत्यु भयो।
यस दुखद घटनापछि भ्रमणमा रहेका पत्रकारहरूले आफ्नो चार दिनको बाँकी भ्रमण रद्द गरे। इस्लामको परिवार पनि सोमबार बिहानै सिक्किम आइपुगे र जिल्ला प्रेस क्लबलाई दिवंगत इस्लाम लामो समयदेखि मुटु सम्बन्धी रोग, छाती दुख्ने, मधुमेह र उच्च रक्तचाप लगायतका धेरै स्वास्थ्य समस्याबाट पीडित थिए भनी जानकारी गराए।
पीसीएसले सिक्किम सरकार र सम्बन्धित अस्पताल अधिकारीहरूको तत्काल सहयोग र पोस्टमार्टमसहित सबै आवश्यक प्रक्रियाहरू ढिलाइ नगरी पूरा गरिएकोमा सराहना गरेको छ। शव शोकसन्तप्त परिवारलाई हस्तान्तरण गरिएको छ र एम्बुलेन्सद्वारा असम पठाइएको छ।
पीसीएसले शोकको यस घडीमा सैदुल इस्लामको परिवार, कार्बी आङ्लोङको जिल्ला प्रेस क्लब र शोक सन्तप्त पत्रकार समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल