आईपीएस सिक्किम शाखाको वार्षिक साधारण सभा सम्पन्न
आईपीएस


गान्तोक, 2 दिसम्बर (हि.स.)।इण्डियन साइकियाट्रिक सोसाइटी (आईपीएस) सिक्किम राज्य शाखाले “लेम्बोरेक्सान्ट” विषयमा निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम तथा वार्षिक साधारणसभा १ दिसम्बरमा आयोजन गर्यो। कार्यक्रममा राज्यभरिका मनोचिकित्सक तथा मानसिक स्वास्थ्य विज्ञहरूको उत्साहपूर्ण सहभागिता रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

वैज्ञानिक सत्रका वक्ता कोषाध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा. बिष्णु शर्माले अनिद्रा सम्बन्धी विस्तृत प्रस्तुति दिए, जसमा यसको न्युरो–जीविकीय आधार, क्लिनिकल असर तथा उपचार रणनीतिहरूको विकासबारे चर्चा गरे। डा. शर्माले लेम्बोरेक्सान्टले मानसिक रोगहरूसँग सम्बन्धित अनिद्रामा समेत प्रभावकारी परिणाम देखाएको बताए। यसपछि, अन्तरक्रियात्मक छलफल पनि सम्पन्न गरिएको दियो।

सीएमईपछि सिक्किम राज्य शाखाको वार्षिक साधारणसभा शुरु भयो। निवर्तमान अध्यक्ष डा. सी. एल. प्रधानले संस्थाका आगामी उद्देश्य र कार्यदिशाबारे धारणा राख्दै आफ्नो कार्यकालमा सहयोग र सक्रिय सहभागिता जनाउने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरे।

एजीएमपछि डा. नेत्र थापा (एचओडी, मनोचिकित्सा विभाग, एसटीएनएम अस्पताल) को अध्यक्षतामा आगामी २०२५–२७ का लागि नयाँ पदाधिकारी तथा कार्यकारी समितिको सर्वसम्मत निर्वाचन सम्पन्न भयो। यस क्रममा अध्यक्ष डा. सतीश रासाइली, उपाध्यक्ष डा. गीता गुरुङ, महासचिव डा. बिभुसन दाहाल, सह–सचिव डा. उपासना गुरुङ, कोषाध्यक्ष डा. बिष्णु शर्मा,

सम्पादक डा. शीतल छेत्री, प्रमुख संरक्षक डा. सी. एल. प्रधान

प्रमुख सल्लाहकार डा. नेत्र थापा र पूर्वी क्षेत्र आईपीएस प्रतिनिधि डा. अनमोल प्रधान निर्वाचित भएका छन्

सभाले नव–निर्वाचित टोलीलाई बधाई ज्ञापन गर्दै मानसिक स्वास्थ्य सेवा र शैक्षिक गतिविधिलाई अझ सबल बनाउन सक्षम नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गर्यो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande