
गान्तोक, 2 दिसम्बर (हि.स.)। लागूऔषध विरुद्ध जारी युद्धमा अर्को महत्वपूर्ण उपलब्धिको रूपमा नयॉं बजार पुलिस स्टेशनले छजनालाई प्रतिबन्धित लागूऔषध सेवन र अवैध सञ्चलनमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम मनाज प्रधान (38), मनोज परियार (35), दिपेश तामाङ (35), जावेद आलम (39), सरोज राई (31) र निमा शेर्पा (28) बताइएको छ। सोधपुछको क्रममा पक्रा परेका आरोपीहरूले प्रतिबन्धित लागूऔषध प्रयोग गरेको स्वीकार गरेका छन्।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले पक्रा परेका व्यक्तिहरूको जोरथाङस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सा जॉंच गराइएको र जॉंच परीक्षण सकारात्मक आएको प्रेस विज्ञप्तिमा बताएका छन्। चिकित्सा जॉंचपछि उनीहरूको उपचार, परामर्श र नशामुक्ति समर्थनका लागि पुनर्वास केन्द्रमा प्रवेश गराउन आवश्यक प्रक्रिया शुरू गरिएको उनले जानकारी गराएका छन्।
पुलिस अधीक्षकले सोरेङ जिल्ला पुलिसले लागूऔषधमुक्त जिल्ला सुनिश्चित गर्ने आफ्नो अटल प्रतिबद्धता दोहोर्याएका छन्। उनले नागरिक समाजका सबै सदस्यहरूलाई लागूऔषध दुरुपयोग विरुद्धको सामूहिक लडाईमा सहयोग विस्तार गर्न र सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्। उनले सोरेङ जिल्लालाई नशामुक्त बनाउन मिलेर काम गरौं भनी आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल