
गान्तोक, 22 दिसम्बर (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आइतवार आफ्नो 17औं रोलु दिवस सामान्य रूपमा पालन गऱ्यो। एसकेएमले रोलु दिवसलाई सफल तुल्याउन उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।
एसकेएम प्रवक्ता बिकास बस्नेतले आज एक प्रेस विज्ञप्ति जारी गरेर 17औं रोलु दिवसमा उपस्थिति दिने सबैलाई धन्यवाद दिएका छन्। उनले यस वर्ष रोलु दिवसको कार्यक्रम छोटो र सामान्य रूपमा पालन गरिएको, तर व्यापक रूपमा जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको बताएका छन्। उनले लोसुङ र नामसुङ पर्वहरूबीच पनि रोलु दिवसमा जनताको उपस्थितिले एसकेएम पार्टी सिक्किमका जनताबीच कति लोकप्रिय छ भन्ने स्पष्ट देखाएको उल्लेख गरेका छन्।
उनले पार्टी अध्यक्ष प्रेमसिंह तामाङले रोलु दिवसको अवसरमा रोलु मन्दिरमा उपस्थित रहेर सिक्किमेली जनता र सिक्किमको उन्नति र प्रगतिको निम्ति कामना गर्दै पूजा-अर्चना गरेकोमा उनीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। आफ्नो सम्बोधनमा पार्टी अध्यक्षले सबै कार्यकर्ता र समर्थकहरूलाई एकबद्ध भएर अनुशासित ढङ्गले पार्टीलाई अझ सशक्त बनाउन आह्वान गरेको उनले बताएका छन्। यसरी नै पार्टी अध्यक्षले 2026 देखि पार्टीका गतिविधिहरूलाई थप तीव्र बनाउन र ‘मिसन 2029’ लाई लक्ष्य गरी निर्णायक विजय हासिल गर्ने प्रणका साथ सामूहिक रूपमा काम गर्न आग्रह गरेको पनि उनले उल्लेख गरेका छन्।
एसकेएम पार्टीको आगामी 4 फरवरी, 2026 मा आफ्नो स्थापना दिवस यसपल्ट युवा सम्मेलन, नारी सम्मेलन र समापन कार्यक्रम गरी तीनदिवसीय रूपमा पालन गर्ने पार्टी अध्यक्षले बताउॅंदै यसका लागि हरेक कार्यकर्तालाई तयारीका लागि जुट्न आह्वान गरेको उनले बताएका छन्।
उनले भनेका छन्, रोलु दिवस सन् 2009 मा तानाशाही प्रवृत्तिविरुद्ध शुरु गरिएको क्रान्तिको प्रतीक हो। त्यतिबेला जनताका लागि गरिएका प्रतिबद्धताहरू आज स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायत सबै क्षेत्रमा देखिएको विकासमार्फत पूरा हुँदै गइरहेको कुरा सम्पूर्ण सिक्किमेली जनताको आँखाअघि छन्। एसकेएम पार्टीका लागि रोलु दिवस एउटा स्थान वा दिवस मात्र नभएर यो बलिदान, सङ्घर्ष, परिवर्तन र सिक्किमको उज्ज्वल भविष्यको प्रतीक हो।
हिन्दुस्थान समाचार / बिशाल