
गान्तोक, 25 दिसम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज बेङ फेङयोङ ग्राम पञ्चायत एकाइ अन्तर्गत सिङताम छेउ साङ्खोलास्थित अटल अमृत उद्यान परिसरमा भारत रत्न पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे।
यस अवसरमा राज्यपालले भने, अटलजीको जीवन राष्ट्रभक्ति, लोकतान्त्रिक मूल्य र जनसेवाप्रतिको समर्पणको एक अद्वितीय उदाहरण हो। उहाँका विचार र कार्यहरूले आज पनि देशवासीहरूलाई प्रेरणा प्रदान गरिरहेका छन्।
कार्यक्रमका क्रममा राज्यपालले बेङ फेङयोङ ग्राम पञ्चायत एकाइका असहाय तथा आवश्यकता परेका नागरिकहरूलाई कम्बल वितरण गरे र उद्यानमा उपस्थित साना बालबालिकाहरूलाई मिठाई पनि बितरण गरे।
यस अवसरमा क्षेत्र विधायक सोनाम भेन्चुङ्पा, पञ्चायत सदस्यहरू, प्रशासनिक अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, उद्यानका कर्मचारीहरूका साथै धेरै संख्यामा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले अटलजीको स्मृतिमा नमन गर्दै श्रद्धाञ्जली अर्पण गरेको लोकभवनले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल