
पश्चिम मेदिनीपुर, 25 दिसम्बर (हि. स.)। पश्चिमबंग आशा कर्मी यूनियनको आह्वानमा गत 23 दिसम्बरदेखि शुरू भएको आशाकर्मीहरूको अनिश्चितकालीन हड़ताल गए बुधवार साँझसम्म जारी रह्यो। न्यूनतम मासिक वेतन 15 हजार रुपियाँ निर्धारण गर्नुपर्ने, प्रोत्साहन राशि सहित सबै बाँकी भुक्तान, कार्यरत अवस्थामा मृत आशा कर्मीको परिवारलाई 5 लाख रुपियाँ सहायता, वर्षमा 24 दिनको छुट्टी सहित आठ सूत्रीय मागहरूलाई लिएर यो हड़ताल लगातार भइरहेको छ।
राज्यव्यापी हड़ताल अन्तर्गत पश्चिम मेदिनीपुर जिल्लाको दासपुर-एक अनि दासपुर-दुई, घाटाल तथा चन्द्रकोणा-एक र चन्द्रकोणा-दुई ब्लकका आशा कर्मीहरूले पनि हड़तालमा सक्रिय सहभागिता जनाए। दासपुर-एक औ दासपुर-दुई ब्लकका आशा कर्मीहरूले दासपुरमा भेला भएर ऱ्याली एवं सभा आयोजना गरे जसमा लगभग सयभन्दा अधिक आशा कर्मीहरू सामेल भए।
अर्कोतिर घाटाल ब्लकका आशा कर्मीहरूले बरदा चौकमा प्रतिकात्मक पथावरोध गरी आफ्नो मागको समर्थनमा विरोध प्रदर्शन गरे। चन्द्रकोमा-ए अनि दुई ब्लकका आशा कर्मीहरूले खीरपाईमा सभा तथा ऱ्याली निकालेर आन्दोलनलाई अझ तीव्र बनाए।
पश्चिमबंग आशा कर्मी यूनियनकी अध्यक्ष कृष्णा प्रधानलाई गए बुधवार अबेर साँझ फोन गर्दा उनले बताइन्, सरकारको पक्षबाट अहिलेसम्म कुनै ठोस आश्वासन प्राप्त भएको छैन। उनले स्पष्ट पारिन्, गए बुधवार साँझसम्मको स्थिति अनुसार जबसम्म आशा कर्मीहरूको जायज मागलाई स्वीकार गरिँदैन तबसम्म यो अनिश्चितकालीन हड़ताल जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा