डुवर्समा जंगली हात्तीको आतंक, हमलामा बुजुर्गको मृत्यु
डुवर्समा जंगली हात्तीको आतंक, हमलामा बुजुर्गको मृत्यु


अलिपुरद्वार, 25 दिसम्बर (हि.स)। डुवर्स क्षेत्रमा जंगली जनावरहरूको हमला अनि ज्यानमालको नोक्सानका घटनाहरूले रोकिने नाम लिएको छैन। बिहीवार एकफटक फेरि हात्तीको हमलामा एकजना बुजुर्ग व्यक्तिको पीड़ादायी मृत्यु भएको छ। मृतकको नाम पवित्र राय (55) हो। यो घटना अलिपुरद्वार जिल्लाको जटेश्वर एक नम्बर ग्राम पञ्चायतका पूर्व बेकांडी क्षेत्रमा भएको हो।

स्थानीय सूत्र अनुसार बिहीवार सबेरै पवित्र राय घरदेखि निक्लेर सड़क तर्फ गइरहेकी थिइन्, अचानक उनको सामना एक जंगली हात्तीसित भयो। हात्तीलाई देखेर आफ्नो ज्यान बचाउनको लागि उनी भाग्न थालिन्, तर हात्तीले उनलाई पछ्यायो। उनी दौड़िर घरको आँगनसम्म पुग्न सफल भए पनि आफ्नो ज्यान भने बचाउन सकिनन्। हात्तीले उनलाई कुल्चियो जसबाट उनको घटनास्थलमै मृत्यु भयो।

घटनाको सूचना पाउनसाथ मदारीहाटका रेञ्जर शुभाशिष राय अनि जटेश्वर फाड़ी प्रभारी देवाशिष रञ्जन देव घटनास्थलमा पुगे। पुलिस र वन विभागको उपस्थितिमा शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाइदियो। रेञ्जर शुभाशिष रायले बताए, सरकारी नियम अनुसार मृतक परिवारलाई क्षतिपूर्ति दिइनेछ।

स्थानीय मानिसहरूको आरोप छ, जंगलमा भोजनको अभाव अनि कोरिडोरको समस्याले गर्दा प्रायजसो जंगली जनावरहरू आवासीय क्षेत्रमा पस्छन् जसले गर्दा आम मानिसहरूलाई आफ्नो ज्यान गुमाउनु परिरहेको छ। वन विभागले क्षेत्रमा अतिरिक्त निगरानी गर्ने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande