
गान्तोक, 3 दिसम्बर (हि.स.)। सिक्किमका म्याराथन म्यान अमर सुब्बाले हैदरावादमा सम्पन्न '12 आवर नाइट रन' मा उत्कृष्ट प्रदर्शन गर्दै खुल्ला वर्गमा पाँचौँ स्थान हासिल गरेका छन्। उक्त दौड गौडियम स्पोर्टोपिया एथलेटिक ट्र्याकमा 29 नोभेम्बर साँझ 6 बजीदेखि 30 नोभेम्बर बिहान 6:00 बजीसम्म आयोजना गरिएको थियो।
अद्भुत सहनशक्ति र दृढ़ आत्मविश्वासको परिचय दिंदै धावक सुब्बाले 234 ल्याप पूरा गरी 12 घण्टाभित्र 93.60 किलोमिटर दूरी दौडिएर उल्लेखनीय उपलब्धि हासिल गरे। राष्ट्रिय स्तरमा सिक्किमको प्रतिनिधित्व गर्दै प्राप्त गरिएको यो उपलब्धि सम्पूर्ण सिक्किमवासीका लागि गौरवको विषय बनेको छ।
चोटबाट ग्रसित हुँदाहुँदै पनि प्रतिस्पर्धामा सहभागी भई असाधारण धैर्य, दृढ़ता र खेलभावना प्रदर्शन गरेका सुब्बाले आगामी प्रतिस्पर्धाहरूमा अझ राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।
धावक सुब्बाले आफ्नो यात्रामा नैतिक तथा आर्थिक साथ र प्रोत्साहन प्रदान गर्ने सबैजनाप्रति हार्दिक आभार व्यक्त गरेका छन्। आफ्ना शुभचिन्तकहरूको प्रोत्साहन र सहयोगले यस उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल