गान्तोकमा खानेपानी संकटबारे भाजपा नेतृत्व र पीएचई विभागबीच बैठक सम्पन्न
BJP team


गान्तोक, 3 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताको नेतृत्वमा एक प्रतिनिधि टोली र पीएचई विभागका सचिवको अगुवाइमा उच्च अधिकारीबीच आज उच्च-स्तरीय बैठक सम्पन्न भयो। भाजपा टोलीमा प्रवक्ता साङ्गे ग्याछो भोटिया, प्रदेश सचिव साङ्गे पल्जर, एसटी मोर्चा राज्य अध्यक्ष कर्म सोनाम भोटिया, गान्तोक जिल्ला कोषाध्यक्ष जिग्मे लाचेनपा तथा गान्तोक मण्डल अध्यक्ष राजेन तामाङ सामेल थिए। यसैगरी, पीएचडी विभागको टोलीमा सचिव सैलेन्द्र शर्मा, प्रधान मुख्य अभियन्ता संजीव राई लगायत अन्य अधिकारीहरू उपस्थित थिए।

बैठकको मुख्य एजेन्डा प्राकृतिक रूपमा जलसम्पदा सम्पन्न क्षेत्र हुँदाहुँदै पनि गान्तोकका बासिन्दाले वर्षौँदेखि झेलिरहेको गम्भीर र दीर्घकालीन खानेपानीको अभाव विषयमा विभागीय जवाफदेही सुनिश्चित गर्नु रहेको प्रदेश भाजपाले आज प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

यस क्रममा पीएचई विभागका अधिकारीहरूले संकटको गम्भीरता स्वीकार गर्दै कामको कठिन स्वभाव र स्थल-विशेष चुनौतीहरूलाई मुख्य अवरोधका रूपमा प्रस्तुत गरेको बताइएको छ।

अर्कोतिर, भाजपा सिक्किमले निरन्तर र पर्याप्त खानेपानी आपूर्ति सरकारद्वारा नागरिकलाई उपलब्ध गराउनुपर्ने आधारभूत दायित्व रहेको कुरामा जोड दिए। प्रदेश भाजपाले गान्तोकका सबै बासिन्दाहरूलाई वर्षैभरि 24×7 खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने माग विभाग समक्ष राख्यो।

जवाफमा पीएचई विभागले अनवरत 24 घण्टा खानेपानी उपलब्ध गराउनु नै आफ्नो प्रमुख उद्देश्य रहेको र उक्त लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण प्रयासहरू अघि बढाइरहेको जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande