दुईजना वरिष्ठ पास्टरहरुलाई सम्वर्द्धना, अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न
दुईजना वरिष्ठ पास्टरहरुलाई सम्वर्ध्दना जनाउन सम्वर्ध्दना अनि अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न


सिलगढी, 4 दिसम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङ सिलोआम चर्चका संस्थापक वरिष्ठ पास्टर रेभरेन्ट पीडी भोंग्मू र पूर्वी नेपालका वरिष्ठ पास्टर प्रेरित एनडी थुलुङलाई सम्मान परिवारको आयोजनामा सम्वर्द्धना जनाइएको छ। यस अवसरमा अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रम पनि सम्पन्न गरियाे। सिलगढीको देवीडाङ्गा अन्तर्गत बाबुबासास्थित हिमाली सालोम चर्चमा‌ सम्पन्न कार्यक्रममा वरिष्ठ पास्टरहरूलाई सम्वर्द्धना जनाइयाे। उक्त कार्यक्रमको अध्यक्षता सेविका मन्नु रोंगोंगले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा एकता बुक्स हाउस प्राइवेट लिमिटेडको निर्देशक आरसी तिमोथी थिए। सम्मान परिवारका सचिव पा शरण 'शरद', सह सचिव रुबेन रमेश राई र कार्यकारी सम्पादक हनोक थापा आदिले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण कोषाध्यक्ष रेभरेन्ट सुरेन खवासले गरेका थिए। एल्डर दयारत्न प्रधानको शुरुको प्रार्थनाद्वारा शुरु गरिएको कार्यक्रममा कार्यक्रममा जोर्डन प्रेयर टावरको आमाहरुले समूह गीत प्रस्तुत गरे भने पा प्रमोद राईको अगुवाईमा पनि गीत प्रस्तुत गरियो। कार्यक्रममा सम्मान परिवारको उद्देश्य र औचित्य विषयमा मुख्य संयोजक एवं दर्शनकर्ता प्रेरित ध्रुव 'शिष्य' ले वक्तव्य राखे। कार्यक्रममा भारतबाट खरसाङको सिटोङस्थित सिलोआम चर्चका संस्थापक पास्टर रेभ पीडी भोंग्मू र नेपालबाट एनडी थुलुङलाई सम्वर्द्धना जनायाे। कार्यक्रमका अध्यक्षा, प्रमुख अतिथि, सम्मान परिवारका मुख्य संयोजक एवं दर्शनकर्ता प्रेरित ध्रुव 'शिष्य' र सभापति रेभ नारायण जोशुवा शर्माको बाहुलीबाट खदार्पणसहित टोपी पहिराएर‌ दोसल्ला ओढाइयाे र स्मृति चिन्ह र सम्वर्ध्दना पत्र एवं नगदराशि पचास हजार अर्पण गरियाे।कार्यक्रममा सम्वर्ध्दित गुरुजन रेभ पीडी भोंग्मू र प्रेरित एनडी थुलुङले आफ्नो सम्बोधनमा सम्मानको लागि सम्मान परिवारप्रति आभार प्रकट गर्दै यो सम्मानको क्रम‌ निरन्तर रहोस् भनी बताए।‌

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित आरसी तिमोथीले सम्मान परिवारको यो कार्य सराहनीय र असल रहेको बताए‌। उनले यो क्रम जारी रहने आशा व्यक्त गरे। कार्यक्रममा सभाध्यक्षा सेविका मन्नु रोंगोंगले आफ्नो छोटो वक्तव्यमा सम्मान परिवारको यो प्रभुका दासहरुलाई सम्मान गरिने कार्यक्रम स्तुत्य रहेको र यो कार्य निरन्तर रहने आशा व्यक्त गरिन्। कार्यक्रममा धन्यवाद ज्ञापन सम्मान परिवारको उपाध्यक्ष एवं प्रमुख सम्पादक रेभ जीवन राई 'ज्योति'ले राखेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande