जेनेसिस गुरुकुल म्युजिक एकेडेमीले आफ्नो वार्षिक साङ्गीतिक कार्यक्रम 'जेनेसिस उत्सव' आयोजना गर्ने
जेनेसिस गुरुकुल म्युजिक एकेडेमीले आफ्नो वार्षिक साङ्गीतिक कार्यक्रम 'जेनेसिस उत्सव' आयोजना गर्ने


- प्रख्यात गायक पुष्पन प्रधानको विशेष प्रस्तुति आकर्षणको केन्द्र

गान्तोक, 4 दिसम्बर (हि.स.)। जेनेसिस गुरुकुल म्युजिक एकेडेमीले आगामी 9 दिसम्बरका दिन वार्षिक साङ्गीतिक कार्यक्रम 'जेनेसिस उत्सव' आयोजना गर्ने भएको छ। राजधानीको विकास क्षेत्रस्थित एससी भवनमा आयोजना गरिने उक्त कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथि रहनेछन्। उक्त जानकारी एकेडेमीका निर्देशक एवं संस्थापक प्रितमराज छेत्रीले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।

निर्देशक छेत्रीले आगामी 9 दिसम्बरका दिन जेनेसिस गुरुकुल म्युजिक एकेडेमीले आफ्नो वार्षिक साङ्गीतिक कार्यक्रम 'जेनेसिस उत्सव' आयोजना गरिरहेको बताए। उनले यस कार्यक्रममा एकेडेमी कै विद्यार्थीहरूले आफ्नो प्रस्तुति दिने जानकारी गराए। यस अतिरिक्त, प्रख्यात गायक पुष्पन प्रधानले पनि आफ्नो विशेष प्रस्तुति दिने उनले बताए।

संस्थापक छेत्रीले एकेडेमीको माध्यमद्वारा आफ्नो संस्कारको विजारोपण गर्ने प्रयास गरिरहेको र यस कार्यमा आफुहरू सफल पनि बन्दै गइरहेको बताए। उनले एकेडेमीको माध्यमद्वारा आज बॉंसुरी र तबलामा अनलाइन प्रशिक्षण पनि चलिरहेको र यसमा भारतलगायत नेपाल, भुटान, अमेरिका, मलेसिया आदि देशका विद्यार्थीहरूले पनि प्रशिक्षण लिइरहेको जानकारी गराए।

पहिले सिक्किमका मानिसहरू प्रशिक्षण लिन राज्य बाहिर जानु पर्थ्यो भने आज देश विदेशका मानिसहरूले सिक्किमबाट प्रशिक्षण लिइरहेको उनले बताए। उनले कार्यक्रममा सिक्किम आइडल अन्तर्गत जुनियर र सिनियर वर्गका विजेताहरूलाई पनि सम्मान जनाइने बताए।

यस अतिरिक्त, पद्मश्रीले सम्मानित वरिष्ठ लोक कलाकार नरेन गुरुङलगायत सिक्किममा संचालित विभिन्न सङ्गीत संस्थानका संस्थापकहरूलाई पनि सम्मानित गरिने उनले बताए। निर्देशक छेत्रीले कार्यक्रम सॉंझ चार बजीदेखि शुरू हुने बताउॅंदै सबैलाई कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande