
नयाँ दिल्ली, ५ दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति ब्लादिमिर पुतिनसँगको द्विपक्षीय वार्ताका क्रममा भारत र रूस आफ्ना सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको बताएका छन्। वार्ताको सुरुवातमा प्रधानमन्त्री मोदीले दुवै देशले आर्थिक सम्बन्धलाई अझ सबल बनाउनेछ र उनी यसबारे अत्यन्त आशावादी रहेको बताए।
प्रधानमन्त्री मोदी र राष्ट्रपति पुतिनबीच हैदराबाद हाउसमा दुई–तर्फी वार्ता सम्पन्न भयो। २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन हैदराबाद हाउस पुगेका राष्ट्रपति पुतिनलाई प्रधानमन्त्री मोदीले स्वागत गरे। विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, प्रधानमन्त्रीका प्रमुख सचिव शक्तिकान्त दास तथा अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए।
वार्तामा प्रधानमन्त्री मोदीले भने, विश्व कोभिड–१९ महामारीपछि विभिन्न संकटबाट जुधिरहेको छ। मलाई आशा छ कि विश्व चाँडै यी चुनौतीहरूबाट मुक्त हुनेछ र सहकार्य तथा प्रगतितर्फ अघि बढ्नेछ। उनले राष्ट्रपति पुतिनलाई साँचो मित्रका रूपमा वर्णन गर्दै युक्रेन–संघर्षको प्रसंग उठाए र भने, भारत शान्तिको पक्षमा छ, भारतले सधैँ शान्तिको पक्ष लिएको छ।
मोदीले भने, राष्ट्रपति पुतिनले समय–समयमा युक्रेनको घटनाक्रमबारे जानकारी गराइरहेका छन्। संघर्ष शुरु भएदेखि नै दुवै देशबीच सतत संवाद जारी छ। एक मित्रका रूपमा पुतिनले दिएका सूचनाको विश्वास निकै महत्त्वपूर्ण भएको उनले बताए। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै विश्वमा पुनः शान्ति कायम हुनेछ भने। उनका अनुसार, शान्तिका माध्यमबाट मात्र विश्व कल्याण सुनिश्चित हुन सक्छ, त्यसका लागि मिलेर शान्तिको बाटोमा अघि बढ्नुपर्छ।
राष्ट्रपति पुतिनले युक्रेन संकटको समाधान खोज्ने प्रयासमा प्रधानमन्त्री मोदीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए। उनले भने, यस संकटको समाधानका लागि रूस अमेरिका तथा अन्य सहयोगी मुलुकहरूसँग मिलेर प्रयासरत छ। समाधानका लागि भारतको पक्षलाई सम्मान गर्दछौं। उनले भने, युक्रेन विवादका जराहरू इतिहासमा छन्। महत्त्व शब्दहरूको होइन, वास्तविक ठोस उपायहरूको छ।
वार्ताअघि राष्ट्रपति पुतिन राजघाट गए र राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरे। आफ्नो टिप्पणीमा उनले लेखे, महात्मा गान्धीको विश्व–शान्तिका लागि योगदान बिर्सन सकिँदैन। उनले बहुध्रुवीय विश्वको कल्पना गरेका थिए, जुन अहिले आकार लिँदैछ। उनले उल्लेख गरे, गान्धीले लियो टलस्टोयलाई लेखेका पत्रहरूमा भविष्यमा यस्तो विश्वको कल्पना गरेका थिए जहाँ तानाशाही र दबदबा नहोस् र राष्ट्रहरूबीच समानता, आपसी सम्मान र सहकार्यका सिद्धान्तहरू कायम रहून्। यी नै मूल्यहरू आज भारत र रूसले अन्तरराष्ट्रिय मञ्चमा मिलेर कायम राखिरहेका छन्।
आज नयाँ दिल्लीको राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुतिनको औपचारिक स्वागत गरे। राष्ट्रपति पुतिन हिजो नयाँ दिल्ली आएका थिए, जहाँ प्रधानमन्त्री मोदीले नै विमानस्थलमा स्वागत गरेका थिए।
पछिल्लो एउटा अन्तर्वार्तामा राष्ट्रपति पुतीनले भने, भारत–रूस सहकार्यले केवल द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदैन, यसले वैश्विक स्थिरताको आधार पनि तयार गर्छ। उनले भने, राजनीतिक परिवर्तन वा युक्रेन संकट जस्ता परिस्थितिले भारत–रूस ऊर्जा सहकार्यमा कुनै नकारात्मक प्रभाव पारेको छैन। तेल व्यापार र रिफाइनिङ सामान्य रूपमा चलिरहेको छ र रूसी कम्पनीहरूले भारतलाई भरोसायोग्य साझेदारको रूपमा हेर्ने गरेको बताए।
पुतिनले यसो पनि भने, जब अमेरिका रूसबाट परमाणु इन्धन किन्न सक्छ भने भारतलाई यस अधिकारबाट वञ्चित गरिनु हुँदैन पर र यस विषयमा राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न सकिन्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी