
गान्तोक, 5 दिसम्बर (हि.स.)। भारतीय रिजर्भ ब्याङ्क (आरबीआई), गान्तोकले 5 दिसम्बर, २०२५ मा टाशीलिङ सचिवालयमा नवौं राज्य स्तरीय समन्वय समिति (एसएलसीसी) बैठक आयोजन गर्यो। आरबीआईका क्षेत्रीय निर्देशक थोटङ्म जमाङद्वारा सञ्चालन गरिएको बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव रवीन्द्र तेलाङले गरेका थिए। उक्त जानकारी आज पीआईबीले दिएको छ।
बैठकमा कानून विभाग, गृह विभाग, वित्त विभाग, सहकारिता विभाग, आरसीएस, डीजीपी, सीबी-सीआईडी, सेबी, कोलकाताका सहायक महाप्रबन्धक, कोषाध्यक्ष, ईआईआरसी-आईसीएआई, सहायक आरओसी, कोलकाता र भारतीय रिजर्भ ब्याङ्क, गान्तोकका उप महाप्रबन्धक लगायत विभिन्न अधिकारीहरूको उपस्थिति रहेको थियो।
मुख्य सचिवले देशमा हुने विभिन्न प्रकारका धोकाधडीहरूबाट सिक्किमका जनतालाई जोगाउन निवारक उपायहरू अपनाउन सल्लाह दिए। मुख्य सचिवले सबै सरोकारवालाहरूबीच प्रभावकारी समन्वय सुनिश्चित गर्न वित्त विभागभित्र एक नोडल सेल गठन गर्न पनि निर्देशन दिए। उनले मञ्चलाई जानकारी गराए अनुसार, बीयूडीएस नियमहरूको उद्देश्यका लागि गृह विभागका अतिरिक्त मुख्य सचिव/प्रधान सचिवलाई सम्बन्धित अधिकारीको रूपमा निर्दिष्ट गरिएको छ।
बैठकमा सदस्यहरूले हेल्पलाइन १९३० मा रिपोर्ट गरिएका विभिन्न प्रकारका वित्तीय धोकाधडीका घटनाहरू र सिक्किम पुलिसले गरेको कुल रिकभरीबारे चर्चा गरे। समितिलाई नागरिकहरूमाझ साइबर जागरूकता फैलाउन सिक्किम पुलिसले गरेका विभिन्न पहलहरूको बारेमा जानकारी गराइएको थियो।
आरबीआईकी प्रबन्धक अदिती हलदारले प्रचलित विभिन्न प्रकारका डिजिटल ठगी र धोखाधडी गतिविधिहरूको विस्तारलाई रोक्न आरबीआईले गरेका उपायहरूको बारेमा संक्षिप्त प्रस्तुति दिइन्। बैठकमा सहभागीहरूले अनियमित संस्थाहरूद्वारा हुने ठगीसँग सम्बन्धित बजार जानकारी आदान-प्रदान गरे अनि यी ठगीहरूको रिपोर्टिङ गर्न सचेत पोर्टलको भूमिकाको बारेमा चर्चा गरे।
आरबीआईले डिजिटल ठगी र उनीहरूको वित्तीय अधिकारको सुरक्षा गर्न उपलब्ध संयन्त्रहरूको बारेमा जनतालाई शिक्षित गर्न सञ्चालन भइरहेका निवेशक जागरूकता कार्यक्रम र ग्राहक शिकायत निवारण संयन्त्रहरूको बारेमा पनि जानकारी गरायो। निवेशकहरूलाई उनीहरूको सिक्योरिटिज बजार मध्यस्थकर्ताहरूको यूपीआई आईडीहरूको प्रामाणिकता प्रमाणित गर्न सक्षम बनाउन सेबीले चालेका नयाँ उपायहरूबारे पनि चर्चा गरियो। मुख्य सचिवले वित्तीय साक्षरता बढाउने प्रयासहरूको लागि सहभागीहरूको प्रशंसा गरे र सूचना प्रसारमा राम्रो समन्वयको महत्त्वमाथि जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल