
सोरेङ, 5 दिसम्बर (हि.स.)। सोरेङ जिल्ला पुलिसले जन साधारण, विशेषगरी सोमबरिया क्षेत्रका बासिन्दाहरूलाई व्हाट्सएपमार्फत एक प्रतिष्ठित परिवारकी महिलालाई लक्ष्य बनाइएर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार गरिएको अश्लील भिडियो हालै प्रसारणमा आएको फेला परेको जानकारी गराएको छ। यस विषयमा जांच शुरू गरिएको र आवश्यक कानूनी प्रक्रिया अघि बढाएको पनि बताइएको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज जारी एक विज्ञप्तिमा सबै व्यक्तिहरूलाई उक्त भिडियो वा यस्ता कुनै पनि भिडियो सामग्रीहरू हेर्ने, शेयर गर्ने वा कुनै पनि माध्यमबाट प्रवाह गर्ने काम नगर्न सचेत गराएका छन्। उनले यस्ता अश्लील वा मानहानी हुने सामग्री प्रसारण गर्नु दण्डनीय अपराध रहेको बताउँदै यस्तो गतिविधिमा संलग्न कुनै पनि व्यक्ति विरुद्ध कानूनी प्रावधानअनुसार कारबाही गरिने बताएका छन्।
पुलिस अधीक्षक प्रधानले यदि कसैलाई यस्तो सामग्री अनायास प्राप्त भएको छ भने तुरुन्त हटाउन र पुलिसले गरिरहेको जांच कार्यमा पूर्ण सहयोग गर्न जन सधारणसँग अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल