सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना
सीएपी धरना


गान्तोक, 5 दिसम्बर (हि.स.)।सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमले आज गान्तोकमा एकदिने शान्तिपूर्ण धरना आयोजना गर्यो। धरना हालै सिक्किम लोक सेवा आयोग (एसपीएससी) ले प्रकाशित गरेको सिक्किम पुलिसको सब–इन्स्पेक्टर (एसआई) भर्ती प्रक्रियामा विरुद्ध गरिएको हो। सीएपीले भर्ती प्रक्रियामा पारदर्शिताको अभाव, भाइभतीजावाद र राजनीतिक पक्षपातको आरोप लगाउँदै आएको छ।

सीएपीले आज विज्ञप्तिमा भनेको छ, ३९ पदका लागि गरिएको छनोट प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ, जसले हजारौं ईमानदार र कडा परिश्रम गर्ने सिक्किमेली युवाहरूको मेहनतमाथि अन्याय गरेको छ। सीएपी नेतृत्वले छनोट प्रक्रियामा राजनीतिक प्रभाव र प्रणालीगत धांधलीको पनि आरोप लगाएको छ। सीएपीले चयनित सूचीमा लगभग ८०% उम्मेदवारहरूको प्रत्यक्ष सत्तारूढ एसकेएम पार्टीसँग सम्बन्ध रहेको दाबी गरेको छ। चयनित उम्मेदवारहरूमा सत्तारूढ़ पार्टीका कार्यकर्ता, सामाजिक सञ्जाल ह्याण्डलर तथा सरकारका उच्च पदाधिकारीहरुकि नजिकका व्यक्तिहरू समावेश गरिएको पनि सीएपीको आरोप छ। पार्टीले एसपीएससीको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ। सीएपीले परीक्षामा सहभागी सबै उम्मेदवारहरूको विस्तृत मार्कसिट तत्काल सार्वजनिक गर्न माग गरेको छ। यही कदमबाट मात्र पारदर्शिता सुनिश्चित हुँदै जनविश्वास पुनःस्थापित गर्न सकिने पार्टीको तर्क छ।

आजको शान्तिपूर्ण धरनाले सिक्किम सरकार र एसपीएससीलाई युवा र नागरिकहरू सार्वजनिक भर्तीमा भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपलाई कुनै पनि हालतमा सहन तयार छैनन् भन्ने स्पष्ट सन्देश दिएको बताइएको छ। धरना शुरु गर्नु भन्दा पहिले सीएपीले इन्दिरा बाईपासदेखि र्याली निकालेको थियो, जुन जिल्ला प्रशासन केन्द्र परिसर पुगेपछि धरनामा परिणत बन्यो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande