ध्रुव तारा सरह छ भारत-रूसको मित्रता- प्रधानमन्त्री मोदी
रूस


नयाँ दिल्ली, 05 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत-रूस सम्बन्धलाई आकाशमा एक स्थानमा स्थिर रहने ध्रुव तारासँग तुलना गरे। उनले भने, दुई देशले 2030 सम्म आफ्नो आर्थिक सहयोग कार्यक्रम अगाड़ी बढ़ाउन सहमत भएका छन्। दुवै देश युरेशियन (एशिया-युरोप) आर्थिक संघसँग स्वतन्त्र व्यापार सम्झौतातर्फ अगाड़ी बढ़ीरहेका छन्।

प्रधानमन्त्री मोदीले शुक्रवार हैदराबाद हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुतिनसँग द्विपक्षीय शिखर सम्मेलन गरे। वार्तापछि संयुक्त प्रेस वक्तव्यमा प्रधानमन्त्रीले विगत आठ दशकमा विश्वले उतार-चढ़ाव देखेको र मानवताले असंख्य चुनौती र संकटहरूको सामना गरेको बताए तर ध्रुव तारा जस्तै भारत र रुसबीचको मित्रता पारस्परिक सम्मान र गहिरो विश्वासमाथि आधारित छ र सधैं समयको परीक्षामा खरो उत्रिएको छ।

बैठकको क्रममा दुई देशले द्विपक्षीय सम्बन्धलाई सुदृढ़ पार्न सम्झौतामा हस्ताक्षर गरे। मिडिया वक्तव्यको क्रममा यी सम्झौताहरूको आदान- प्रदान गरियो। प्रधानमन्त्रीले घोषणा गरे, भारतले चाँड़ै रुसी नागरिकहरूका लागि नि:शुल्क 30 दिने पर्यटक भिसा र समूह पर्यटक भिसा शुरु गर्नेछ। प्रधानमन्त्रीले विश्वभरि सुरक्षित र विविध आपूर्ति श्रृंखला सुनिश्चित गर्न दुर्लभ खनिजहरूमा दुई देशको सहयोगलाई महत्त्वपूर्ण बताए। उनले भने, यसले स्वच्छ ऊर्जा, उच्च तकनीकी उत्पादन र भविष्यका उद्योगहरूमा हाम्रो साझेदारीलाई समर्थन गर्नेछ।

प्रधानमन्त्रीले ऊर्जा सुरक्षालाई भारत-रूस साझेदारीको एक महत्त्वपूर्ण र बलियो स्तम्भ बताउँदै भने, नागरिक नाभिकीय ऊर्जाको क्षेत्रमा दुई देशहरूबीच दशकौं पुरानो सहयोग स्वच्छ ऊर्जाको हाम्रो सामाजिक प्राथमिकतालाई साकार पार्न महत्त्वपूर्ण रहेको छ।

प्रधानमन्त्रीले दुवै देशले ध्रुवीय जलमा समुद्री यात्रीहरूको ट्रेनिङको निम्ति सहयोग गर्ने घोषणा गरे। यसले आर्कटिकमा हाम्रो सहयोगलाई नयाँ शक्ति प्रदान गर्नसाथै यसबाट भारतीय युवाहरूका लागि नयाँ रोजगारीका अवसरहरू पनि श्रृजना गर्नेछ। उनले यस वर्ष अक्टोबरमा काल्मिकियामा भएको अन्तरराष्ट्रिय बौद्ध मञ्चमा लाखौं भक्तजनले भगवान बुद्धका पवित्र अवशेषहरूको आशीर्वाद प्राप्त गरेको पनि उल्लेख गरे। यूक्रेन संघर्षबारे प्रधानमन्त्रीले भने, भारत शुरुदेखिकै शान्तिको समर्थक रहेको छ। हामी यस मुद्दाको शान्तिपूर्ण र दिगो समाधानको लागि गरिएका सबै प्रयासहरूलाई स्वागत गर्दछौं। भारत सधैं योगदान गर्न तयार छ र अगाड़ी पनि जारी राख्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande