71औं माघे संक्रान्ति मेलाको आयोजनलाई लिएर विधायक सिन्चुरीले विभिन्न विभागीय अधिकारीहरूसॅंग बैठक गरे
71औं माघे संक्रान्ति मेलाको आयोजनलाई लिएर विधायक सिन्चुरीले विभिन्न विभागीय अधिकारीहरूसॅंग बैठक गरे


गान्तोक, 5 दिसम्बर (हि.स.)। आगामी माघे संक्रान्ति मेला 2026 लाई ध्यानमा राख्दै विधायक एवं सल्लाहकार मदन सिन्चुरीको अध्यक्षतामा आज गान्तोकमा खेलकुद तथा युवा मामिला विभाग र वाणिज्य एवं उद्योग विभागका सचिवहरू र अधिकारीहरूसँग बैठक गरे। १९५५ देखि ७ दशकसम्म चलेको यो मेला आगामी 14 जनवरीदेखि 21 जनवरी, २०२६ सम्म आयोजना हुनेछ।

विधायक सिन्चुरीले आफ्नो सम्बोधनमा ७१औं माघे संक्रान्ति मेला २०२६ को एक भागको रूपमा आयोजना गरिने मुख्यमन्त्री गोल्ड कपको महत्त्व उल्लेख गरे। विधायकले राज्य बाहिरबाट आउने खेलाडीहरूको आतिथ्य सत्कारमाथि जोड दिॅंदै यसले बाहिरबाट आउने मानिसहरूमा राज्यको राम्रो छविलाई प्रवर्द्धन गर्ने बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको माघे संक्रान्ति मेलालाई अन्तरराष्ट्रिय कार्यक्रममा परिणत गर्ने दृष्टिकोणको बारेमा अवगत गराए।

मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले माघे संक्रान्ति मेला मार्फत जोरथाङलाई आर्थिक केन्द्रमा परिणत गर्ने मुख्यमन्त्रीको दृष्टिकोणमाथि प्रकाश पारे। उनले खेलकुद विभागका अधिकारीलाई मेलाको अभिन्न अंग रहेको मुख्यमन्त्री गोल्ड कप फुटबल प्रतियोगितालाई प्रवर्द्धन गर्न निर्देशन दिए।

एनजेएनपीका अध्यक्ष पवित्र मानवले माघे संक्रान्ति मेलाको ऐतिहासिक महत्वमाथि बोल्दै यस मेलाको सिक्किममा मात्र नभई बाहिर पनि मान्यता प्राप्त गर्ने सम्भावना रहेको बताए। उनले यो महोत्सवले राज्यको साझा सम्पदालाई संरक्षण गर्दछ, सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ र समुदायहरूलाई एकताको भावनामा ल्याउँछ भनी बताए।

बैठकमा छलफलको क्रममा मुख्यमन्त्री गोल्ड कप फुटबल प्रतियोगिताको तालिका र मितिसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा छलफल गरियो। यसैगरी, पुरस्कार राशि, उपकरणहरू, पाहुना र खेलाडीहरूको लागि आवासबारेमा पनि विस्तृत छलफल गरियो।

विधायकले भ्रमणको दोस्रो चरणमा वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सो र विभागका अधिकारीहरूसॅंग भेट गरे। यस क्रममा मेलालाई नवोदित उद्यमीहरूका लागि एक प्लेटफर्म बनाउने विषयमाथि छलफल भयो, जहाँ विभागले स्टल र आवश्यक स्थल उपलब्ध गराउनेछ। यसैगरी, अन्तरराष्ट्रिय कार्यक्रममा मेलाको प्रवर्द्धन, निवेशकहरूको संलग्नता र उद्यमीहरूका लागि अनुकूल वातावरण सिर्जना गर्ने जस्ता विभिन्न मुद्दाहरूमाथि पनि छलफल गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande