गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन
गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन


- यदि केन्द्र शासित राज्य दिन्छौं भने छैटौं अनुसूचीको आत्मा हुनुपर्छ: एनबी छेत्री

खरसाङ, 6 दिसम्बर (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा २१औं छैटौं अनुसूची सम्झौता दिवस पालन गरेको छ। खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा पारस गुरुङ प्रमुख अतिथि रहेका थिए। यसैगरी, समारोहमा प्रमुख वक्ताका रुपमा एनबी छेत्री, गोरायुमो केन्द्रिय समिति संयोजक आनन्द राई, भातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरुको उपस्थिति थियो।

गोरायुमो केन्द्रिय समितिका संयोजक आनन्द राईले आफ्नो वक्तव्य राख्दै भने, अब सम्पूर्ण क्षेत्रीय पार्टीले पनि छैटौं अनुसूची भन्नुपर्छ। भारत सरकारले गोर्खाहरुको मुद्दाको निम्ति नियुक्ति गरेको सरकारी वार्ताकारलाई एउटै आवाज भएर बताउनुपर्छ। छैटौं अनुसूचीको सम्झौतामा भारतको केन्द्र सरकार र राज्य सरकारले हस्ताक्षर गरेको छ, हाम्रोमा डकुमेन्ट छ। सुवास घिसिङले छैटौं अनुसूची मागेको कारण यो भूभागलाई गोर्खाहरुको नाममा रेजिस्ट्रेशन गराउनुको निम्ति हो।

समारोहमा प्रमुख वक्ताका रुपमा बोल्दै एनबी छेत्रीले भने, २०१९ देखि गोरामुमोले भित्रभित्रै गोर्खाहरुको मुद्दाको निम्ति काम गरिसकेको छ। गोरामुमो आफ्नो मुद्दामा एक इन्च पनि पछि हटेको छैन। गोर्खाल्याण्ड भयो भने पनि माटोको ग्यारेन्टी छैन, तर छैटौं अनुसूची भयो भने माटोको ग्यारेन्टी हुन्छ। सुवास घिसिङले माटोको सुरक्षाको निम्ति नै आन्दोलन गर्नु सिकाएका हुन्। हामीलाई बंगालले दबाएर राखेको छ। आरक्षणमा हामीलाई छुट्टाएको छ। यी सबबाट मुक्तिको लागि छैटौं अनुसूची एउटा औषधि हो।

उनले भने, २००५ मा छैटौं अनुसूची भएको भए आज न त हाम्रो जमीन अरुलाई बेच्नु पाउथ्यो, न त किन्नु पाउँथ्यो। २०१९ मा हामी भाजपा गठबन्धनमा जाँदा पनि गोरामुमोले एउटा ज्ञापन पत्र दिएको थियो। त्यसमा गोरामुमोले छैटौं अनुसूचीभन्दा मुनिको व्यवस्था मान्ने छैन र यदि केन्द्र शासित राज्य दिन्छौं भने पनि छैटौं अनुसूचीको आत्मा हुनुपर्छ भनेर उल्लेख गरेका छौँ। उनले दागोपापको समयमा नर्सिङको कोटामा ५० मा ४९ जना पहाडका विद्यार्थीहरुको कोटा हुन्थ्यो भने अहिले मात्र १ जना हुन्छ, तरै पनि जीटीए बोल्नु सक्दैन भनी बताए।

उनले अघि भने, कोलकातासँग बोल्नु बाक्य बसेको जस्तै हुन्छ जीटीए। अहिले चुनाउको समयमा बाटो र सार्वजनिक भवनको शिलान्यास गर्दैछ। बाटो र सार्वजनिक भवनले गोर्खाहरुको सुरक्षा गर्छ? गोरामुमोले माटोको सुरक्षा नभएको सम्झौतामा पटक्कै हस्ताक्षर गर्ने छैन। जीटीएको चुनाउमा हामीले नजानुभन्दा राल चुहाउँदै नाच्दै गएको हो, यदि जीटीएको चुनाउमा सबैले बहिष्कार गरेको भए आज हाम्रो समस्याको समाधान भइसक्ने थियो।' एनबी छेत्रीले अब जीटीएको आयु लामो छैन भनी दाबी पनि गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande