
गान्तोक, 6 दिसम्बर (हि.स.)। सिक्किम सरकारले कला-संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका साथै स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्ने महत् उद्देश्यका साथ प्रतियोगितात्मक कार्यक्रमहरूको घोषणा गरेको छ। उक्त कार्यक्रमहरू आगामी 71औं माघे संक्रान्ति मेलाको अवसरमा सम्पन्न गरिने छन्। प्रतिष्ठित माघे संक्रान्ति मेला आगामी वर्ष 2026 को 14 जनवरीदेखि जोरथाङमा शुरू भइरहेको छ।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूले आगामी माघे संक्रान्ति मेलाको अवसरमा आयोजना गरिने प्रतियोगितात्मक कार्यक्रमहरूको बारेमा विस्तृत रूपमा जानकारी गराए। उनले कला-संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका साथै स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ मुख्यमन्त्री प्रेमसिंह तामाङको भिजन र मार्गदर्शनमा चारवटा प्रतियोगिताहरू आयोजना गरिने बताए। उनले यी प्रतियोगिताहरूको मुख्य उद्देश्य प्रतीभा सम्पन्न युवाहरूलाई अगाडि बढ्न र कला क्षेत्रलाई पनि पेशाको रूपमा अपनाउन प्रोत्साहित गर्नु रहेको बताए।
उनले माघे संक्रान्ति मेलाको अवसरमा सिक्किम सरकारको संस्कृति विभागको तत्वावधानमा गोल्डन भोइस अफ् सिक्किम, गोल्डन फीट अफ् सिक्किम, गोल्डन बिट अफ् सिक्किम र क्लासिक ट्र्याडिशनल शोकेस आयोजना गरिने घोषणा गरे। उनले गोल्डन भोइस अफ् सिक्किमका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने गायक/गायिकालाई क्रमश: 7 लाख, 5 लाख र 3 लाख रूपियॉं प्रदान गरिने बताए। यसरी नै गोल्डन फीट अफ् सिक्किमका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने नर्तकहरूलाई क्रमश: 30 लाख, 20 लाख र 10 लाख रूपियॉं प्रदान गरिने छ। यस विधामा भाग लिने प्रतिभागीहरूको संख्या 30 देखि 35 जना हुनुपर्नेछ।
यस अतिरिक्त, गोल्डन बिट अफ् सिक्किमका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने ब्याण्डहरूलाई क्रमश: 10 लाख, 7 लाख र 5 लाख रूपियॉं प्रदान गरिने छ। यस विधामा भाग लिने प्रतिभागीहरूको संख्या 5 देखि 10 जना हुनुपर्नेछ। क्लासिक ट्र्याडिशनल शोकेस प्रतियोगितालाई लिएर आगामी दिनहरूमा पुरस्कार राशि घोषणा गरिने राजनीतिक सचिव खालिङले बताए। उनले यो प्रतियोगिता विशेषगरि राज्यका 21 जाति समुदायको परम्परागत भेषभुषालाई लिएर आयोजना गरिने अवगत गराए।
उनले गोल्डन भोइस अफ् सिक्किम र गोल्ड फीट अफ् सिक्किमको अडिशन आगामी 27 दिसम्बर का दिन सोरेङ र पाकिम जिल्लामा, 28 दिसम्बरका दिन गेजिङ र मङ्गन जिल्लामा र 29 दिसम्बरका दिन नाम्ची र गान्तोकमा सम्पन्न गरिने जानकारी गराए। यी अडिशनहरूमा चयनित हुने प्रतिभागीहरूलाई लिएर 10 जनवरी, 2026 का दिन जोरथाङमा मेगा अडिशन सम्पन्न गरिने छ, जसबाट 10-10 जनालाई चयनित गरिने छ। उनीहरूले 20 जनवरी, 2026 का दिन माघे संक्रान्ति मेलाको समापनको एक दिन अघि सम्पन्न हुने फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी, गोल्डन बिट अफ् सिक्किमको निम्ति 3/4 जनवरी, 2026 मा गान्तोकमा अडिशन सम्पन्न गरिने छ। सोही दिन 5 वटा ब्याण्डलाई चयनित गरिनेछ, जसले पनि 20 जनवरीका दिन फाइनलमा आफ्नो प्रस्तुति दिने छन्। उनले क्लासिक ट्र्याडिशनल शोकेस प्रतियोगिता सम्बन्धित अडिशन मितिहरू चॉंड़ै सार्वजनिक गर्ने जानकारी गराए। उनले यी प्रतियोगिताहरूका लागि निर्णायकहरू सिक्किम लगायत कालेबुङ, दार्जिलिङ, मुम्बई र काठमाडौंबाट रहने पनि बताए।
पत्रकार सम्मेलनमा सिक्किम फिल्म बोर्डका चेयरमेन टाशी छिरिङ भोटिया, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ र डा. मनोज राईले प्राविधिक पक्षमाथि जानकारी गराएका थिए। उनीहरूले बताए अनुसार, यी प्रतियोगिताहरूमा नि:शुल्क भाग लिन सकिने छन् भने केवल सिक्किमका नागरिकहरूले मात्र भाग लिने पाउनेछन्। प्रतिभागीहरूले नेपालीका साथै क्षेत्रीय गीत-सङ्गीतमा आफ्नो कला प्रस्तुत गर्न सक्नेछन्। गोल्डन भोइस अफ् सिक्किममा 15 वर्ष र त्यसभन्दा माथि उमेरका प्रतिभागीहरूले भाग लिने सक्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल