
गान्तोक, 7 दिसम्बर (हि.स.)। नेपाली साहित्य परिषद, सिक्किमले सप्ताहव्यापी नेपालको साहित्यिक भेटघाट कार्यक्रमका लागि आइतबार (7 दिसम्बर, 2025) गान्तोकदेखि यात्रा आरम्भ गरेको छ। यस टोलीको नेतृत्व परिषदका महासचिव नीलम न्यौपानेले गरेका छन।
आइतबार सो टोली इटहरीमा एक रात विश्राम गर्नेछ, जहाँ स्वर्गीय धरणीघर दाहाल स्मृति पुस्तकालयमा अन्य साहित्यकारहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। स्वर्गीय दाहाल वरिष्ठ साहित्यकार ‘सिक्किमको इतिहास’ पुस्तकका लेखक हुन्। उनी मुलत: सिक्किमका हुन। तर, उनी स्थायी रुपमा इटहरीमा बसोबास गरेका थिए।
यस टोलीले स्वर्गीय दाहालका पुत्र ज्ञानेन्द्र दाहालसँग पनि भेटघाट गर्ने छ। यात्राको दोस्रो दिन टोली काठमाण्डौँतर्फ लाग्नेछ, जहाँ प्रतिष्ठित साहित्यिक संसाथनहरू मध्ये रत्न पुस्तकालय, नेपाल प्रज्ञा प्रतिष्ठान तथा एसपी आशा पुस्तकालयमा साहित्यिक भेटघाट कार्यक्रम हुनेछ। यसै क्रममा काठमाण्डौँ नगर भ्रमण पनि हुनेछ।
फर्कँदा चितवन तथा पोखरामा पनि साहित्यिक भेटघाट कार्यक्रम हुने जानकारी परिषद्का प्रचार सचिव जोसेफ लेप्चाले प्रेस विज्ञप्तिमा दिएका छन्।
यस टोलीमा परिषदका प्रचार सचिव लेप्चा लगायत महासचिव नीलम न्यौपाने, संयोजक रवि पौड़ेल, कार्यकारी सदस्यहरू द्वय पेम नोर्बू शेर्पा र कुबेर विष्ट तथा कार्यालय सचिव चन्द्र दुलाल एवम् कार्यालय सहायक टीका ढुङ्गेल सामेल छन्।
हिन्दुस्थान समाचार / बिशाल