
गान्तोक, 7 दिसम्बर (हि.स.)। अल सिक्किम भोटिया एसोसिएशनले आगामी 14 र 15 दिसम्बरका दिन राजधानीको रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गर्ने भएको छ। यस दुई दिवसीय महोत्सव अवधि भूमि पूजा एवं शिलान्यास कार्यक्रमका साथै पूजा, परम्पागत सामग्रीहरू र खानपानको बिक्री एवं प्रदर्शनी र सांस्कृतिक कार्यक्रम सम्पन्न गरिने छन्।
उक्त जानकारी संघका मुख्य सल्लाहकार एवं मन्त्री सोनाम लामाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए। मन्त्री लामाले 2019 मा एसकेएम पार्टीले सरकार गठन गरेपछि सिक्किममा सबै समुदायहरूले आफ्ना चाड-पर्वहरू खुल्लारूपमा मनाउन पाइरहेको बताए। उनले आगामी 14 र 15 दिसम्बरका दिन रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गरिने बताए। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किमका राज कुमार र राज कुमारी एवं क्याब्जे गोञ्जाङ रिम्पोछे विशेष रूपमा उपस्थित रहने पनि उनले अवगत गराए।
उनले पहिलो दिन, 14 दिसम्बरका दिन रिज पार्कमा लगाइने स्टलहरूमा परम्परागत सामग्रीहरूको प्रदर्शनीका साथै खानपानहरूको बिक्री गरिने बताए। यसैगरी, 15 दिसम्बरका दिन दिउॅंसो पूजा र एसएनटी परिसरस्थित भोटिया भवन छेउ सिक्किम सरकारले आवण्टित गरेको जमिनमा भवन निर्माणको लागि शिलान्यास कार्यक्रम सम्पन्न गरिने जानकारी गराए। यस अतिरिक्त, सॉंझ सांस्कृतिक कार्यक्रम सम्पन्न गरिने पनि उनले बताए।
मन्त्री लामाले सिक्किममा भोटिया, लेप्चा, नेपाली र पुराना व्यापारीहरू नङ-मासु सरह मिलेर बसिरहेको बताए। उनले आगामी दुई दिवसीय लोसुङ महोत्सवमा सबै समुदायका सदस्यहरूलाई उपस्थित भइदिन अनुरोध गरे।
हिन्दुस्थान समाचार / बिशाल