सिटोङको माना नजिक गाड़ी दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, चालक गम्भीर घाइते
दुर्घटनाग्रस्त वाहन।


खरसाङ, 8 दिसम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङको माना नजिक आइतवार अबेर राति भएको वाहन दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरू सबै सिटोङ एक सेब्जे–माना क्षेत्रका स्थानीय बासिन्दा रहेको बताइएको छ। मृतकहरूमा सिटोङका पञ्चायत सदस्य साथै स्थानीय दुई जना युवा रहेका छन्‌।

जानकारी अनुसार, गाडीमा सवार चारजनामध्ये चालक जीवित छन्। उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए र तत्काल उद्धार गरी अस्पताल पठाइएको पुलिसले जानकारी गराएको छ। उक्त दुर्घटना खरसाङबाट सिटोङ फर्कने क्रममा भएको थाहा लागेको छ।

दुर्घटनाग्रस्त गाड़ी स्कर्पियो जीप रहेको र अनियन्त्रित भई तल खसेको जानकारी प्राप्त भएको छ। पुलिस कर्मीहरू घटनास्थलमा पुगेर शवहरू बाहिर निकालेको र घटनाबारे प्रारम्भिक छानबिन शुरु गरेको जनाइएको छ। यस वाहन दुर्घटनाको खबर फैलिएपछि सिटोङ क्षेत्र शोकमग्न बनेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande