सड़क मरम्मतको मागमा स्थानीयहरूले गरे सड़क जाम, यातायात प्रभावित
सड़क मरम्मतको मागमा स्थानीयहरूले गरे सड़क जाम, यातायात प्रभावित


दक्षिण 24 परगना, 27 मई (हि. स.)। सोनारपुरको प्रतापनगर क्षेत्रमा मंगलवार स्थानीय मानिसहरूको आक्रोशले उग्र रूप लियो। वर्षौंदेखिको सोचनीय अवस्थामा रहेको चम्पाहाटी-भोजेरहाट सड़कको मरम्मत गर्ने मागलाई लिएर उनीहरूले बाटो जाम गरिदिए। सड़कमा हिलो-पानी जमा हुने हुनाले स्थानीय मानिसहरूलाई वाहन हाँक्न साथै पैदल हिँड़्न गाह्रो भइरहेको छ।

स्थानीय मानिसहरूको भनाइ छ, लगभग 16 किलोमीटर लामो यो सड़क विगत लामो समयदेखिकै जर्जर अवस्थामा छ। सामान्य वर्षा हुँदै सड़क खोलामा परिणत हुन्छ। हिलोमाटो चारैतिर फैलिन्छ। मानिसहरूले यस सम्बन्धमा धेरैपटक प्रशासनलाई सिकायत गरिसकेका छन्, तर अहिलेसम्म कुनै ठोस पहल हुन सकेको छैन। हालैमा भएको वर्षापछि स्थिति अझ जटिल भएको छ जसले गर्दा मानिसहरूको धैर्यको साँध भत्कियो। प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्, जबसम्म सड़कको मरम्मत कार्य शुरू हुँदैन तबसम्म उनीहरूले आन्दोलनलाई जारी राख्नेछन्।

यता सड़क जामको कारणले क्षेत्रमा घण्टौंसम्म यातायात ठप्प भयो जसले गर्दा यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो। सूचना पाउनसाथ सोनारपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि प्रदर्शनकारीहरूलाई समझाई-बुझाई स्थितिलाई सामान्य बनायो।

प्रतिक्रिया व्यक्त गर्दै प्रतापनगर ग्राम पञ्चायतका प्रधान देबनाथ दत्ताले भने, यो सड़क धेरै लामो समयदेखिको जर्जर अवस्थामा छ। छः महिनापूर्व मरम्मत कार्य गरिएको थियो, तर वर्षाले फेरि भत्काइदियो। हामीले उच्च अधिकारीहरूलाई यस सम्बन्धमा सूचित गरेकाछौं र चाँड़ोभन्दा चाँड़ो मरम्मत कार्य शुरू गराउने चेष्टा गरिरहेका छौं।

स्थानीय मानिसहरूले स्पष्ट रूपमा भनेका छन्, यदि यथाशीघ्र कारबाही गरिएन भने उनीहरू ठूलो आन्दोलन गर्न बाध्य हुनेछन्। मानिसहरूको माग छ, सड़कलाई स्थायी रूपमा मरम्मत गरी उपयोग गर्ने योग्यको बनाइयो जसबाट क्षेत्रमा आवागमन सुचारू रूपमा हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande