बाँकुड़ा, 10 जून (हि. स.)। जिल्लाको सिमलापाल ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा कथित रूपमा चिकित्सामा लापरवाही गरेको कारण दुई महिने शिशुको मृत्यु भयो। यस घटनाको कारण आक्रोशित आफन्त अनि स्थानीय मानिसहरूले गए सोमवार अबेर साँझदेखि विरोध प्रदर्शन शुरू गरे जुन अबेर रातिसम्म जारी रह्यो। पछि प्रदर्शनकारीहरूले अस्पतालमा श्रेष्ठ चिकित्सा व्यवस्था हुनुपर्ने मागलाई लिएर बाँकुड़ा-झारग्राम राज्य मार्गलाई जाम गरिदिए।
परिवारको आरोप छ, गए सोमवार साँझ सिमलापालस्थित धानखुनिया गाउँको दुई महिने शिशुको स्वास्थ्य बिग्रिएपछि तत्काल उसलाई सिमलापाल ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। डाक्टरले शिशुलाई भर्ती गराएपछि अस्पताल परिसरमै अवस्थित आफ्नो क्वार्टरमा गए।
केही क्षणमै शिशुलाई श्वास-प्रश्वासमा समस्या शुरू भयो। परिवारले बारम्बार नर्सहरूसित सहयोगको गुहार मागे। नर्सहरूले डाक्टरलाई फोन गरेर स्थिति बारे अवगत गराए, तर डाक्टर फर्केर आएनन्। नर्सहरूमाथि पनि उपचारहमा लापरबाही गरेको आरोप लगाइएको छ। अन्ततः साँझ पर्दा-नपर्दै शिशुको मृत्यु भयो।
परिवारले आरोप लगायो, शिशुको मृत्यु उपचारको अभावले गर्दा भएको हो। त्यसपछि आक्रोशित परिवार अनि स्थानीय मानिसहरूले अस्पताल परिसरमा विरोध प्रदर्शन शुरू गर्दै जिम्मेवार डाक्टरमाथि कारबाही गर्नुपर्ने माग गरे।
स्थिति झन् तनाउपूर्ण भयो जतिबेला प्रदर्शनकारीहरूले बाँकुड़ा-झारग्राम राज्य सड़कलाई जाम गरेर प्रदर्शन गरे। सिमलापाल थानाको पुलिसले घटनास्थलमा पुगेर अवरोधलाई हटाउने प्रयास गऱ्यो, तर पुलिसले पनि विरोधको सामना गर्नुपऱ्यो।
यस सम्पूर्ण घटनाक्रममाथि सिमलापाल ब्लकका स्वास्थ्य अधिकारीले कुनै पनि टिप्पणी गर्नदेखि अस्वीकार गरेका छन्। मृत शिशुको परिवारलाई न्याय दिलाउन तथा अस्पतालको लापरवाहीमाथि कड़ा कारबाही गर्ने माग स्थानीय मानिसहरू निरन्तर गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा