उत्तर 24 परगना, 10 जून (हि. स.)। बंगलादेशको सीमा संलग्न उत्तर 24 परगना जिल्लाको बागदा ब्लकस्थित बोयरा सीमा क्षेत्रमा अन्ततः काँड़ेदार तार लगाउने कार्य शुरू गरिएको छ। वर्षौंदेखि थाँतीमा रहेको यस कार्यलाई अब सरकारी स्वीकृति अनि स्थानीय मानिसहरूलाई क्षतिपूर्ति दिइएपछि क्रियान्वयन गरिएको छ। सीमा सुरक्षा बलले यस क्षेत्रलाई अति संवेदनशील मान्दै सीमा सुरक्षालाई सशक्त बनाउने दिशामा ठूलो कदम उठाएको छ।
उल्लेखनीय छ, बोयराका लगभग 5.5 किलोमीटर क्षेत्रमा अहिलेसम्म काँड़ेदार तार थिएन जसले गर्दा अनु्प्रवेश हुने आशंका कायम रहन्थ्यो। यहाँ धेरैपटक अनुप्रवेशकारीहरूलाई पक्राउ पनि गरिसकिएको छ। तर जमीन अधिग्रहणलाई लिएर स्थानीय मानिसहरूसित सहमति नभएको कारणले काम रोकिएको थियो। अब ब्लक प्रशासनको निगरानीमा प्रभावित जमीन मालिकहरूलाई क्षतिपूर्ति दिएर निर्माण कार्यलाई तीव्रता दिइएको छ।
स्थानीय निवासी साधन घोषले बताएका छन्, मेरो सबै घर-जमीन काँड़ेदार तारभित्र परेको छ। अब हामीले उचित क्षतिपूर्ति पाइसकेपछि त्यो जमीनलाई खाली गरिदिएका छौं। पहिला क्षतिपूर्ति नदिएको कारणले जमीन दिएका थिएनौं।
बागदाका बीडीओ प्रसुन कुमारले जानकारी दिएका छन्, बोयराका विभिन्न मौजाहरूमा आवश्यक जमीनक अधिकांश भागलाई खरिद गरेर बीएसएफलाई सु्म्पिसकिएको छ। बोयरा पञ्चायतका उपप्रधान असित मण्डलले भने, लगभग साढ़े पाँच किलोमीटर क्षेत्रमा अहिलेसम्ममा तारबन्दी गरिएको थिएन। अब मानिसहरूले जमीन दिरहेका छन् जसले गर्दा काम द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा