तीनधारे, 10 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारी क्षेत्रमा बिजुली बत्तीको समस्या धेरै लामो समयदेखि समाधान हुन नसकेको जानकारी प्राप्त भएको छ। यस घुम्ती चियाबारीमा जम्मा 310 घर परिवार बस्छन्।
घुम्ती चियाबारीमा बिजुली बत्तीको समस्यालाई लिएर घुम्ती ग्राम कल्याण समितिका सल्लाहकार श्यामकुमार खवासले विज्ञप्तिमा भनेका छन्, 'अक्टोबर 2023 मा घुम्ती चियाबारीमा बिजुली बत्तीको समस्या विषयमा घुम्ती ग्राम कल्याण समितिको तर्फबाट संयुक्त आवेदन गरेर सहायक अभियन्ता अनि खरसाङ महकुमा प्रबन्धक- बिजुली विभागलाई दिइएको थियो। उक्त उजुरीमा घुम्ती चियाबारी क्षेत्रमा सिंगल क्याबलको प्रबन्ध, बराबर फेसको विभाजन अनि उच्च ऊर्जाको ट्रान्सफरमरको लागि निवेदन रहेको थियो। लगभग दुई वर्ष हुन लाग्दा पनि सम्बन्धित विभागबाट यस विषयमा कुनै ठोस काम भएको छैन।'
उनले गत 26 मई, 2025 देखि लगातार रुपमा बेलुकी 6 बजीदेखि (एक दुई तीन छाडेर) बिजुली बत्तीको अनियमितता हुने गरेको बताएका छन्। यस समस्याका कारण जनसाधारणले ठूलो समस्या झेल्न परिरहेको छ भने विद्यार्थीहरुको पढाईमा पनि धेरै असर परिरहेको उनले जनाएका छन्।
प्रेस विज्ञप्तिमा विभागले गाउँमा कसैले बिजुली बत्ती चोरी गर्दैछ भन्ने आशंका गरेको जनाएको छ। यद्यपि, यस विषयमा खोज तलास गर्दा गाउॅंमा बिजुली चोरीको ठोस प्रमाण नभेटिएको विज्ञप्तिमा उल्लेख छ। समितिले 21औं शताब्दीको डिजिटल युगमा पनि बिजुली बत्तीको अभाव हुनु र समस्या समाधान नहुनु भनेको बुनियादी सुविधाहरूदेखि वञ्चित राखिनु हो भनी बताएको छ।
घुम्ती चियाबारीका वासिन्दाहरुले झेल्दै आइरहेको यस समस्याको समाधानका लागि सम्बन्धित विभागका अभियन्ता, सुपरभाइजर, कर्मचारीहरुलाई समितिले निवेदन गरेको छ।
हिन्दुस्थान समाचार / हनोक