भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा जनसचेतनामूलक ब्यानर लगाउने कार्य
भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा जनसचेतनामूलक ब्यानर लगाउने कार्य


खरसाङ, 10 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा खरसाङ शहरका विभिन्न स्थानहरूमा शहरलाई सफा, स्वच्छ, सुन्दर अनि प्रदुषणमुक्त राख्न जनसाधारणलाई अपील गर्दै जनचेतनामूलक साना साना ब्यानरहरू लगाउने कार्य गरिएको छ। उक्त कार्य टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दिप बल र कार्यवाहक सचिव बिरबल पाख्रीनको अगुवाईमा सम्पन्न गरियो।

दोस्रो चरणको कार्यक्रममा टाउन कमिटीको पक्षबाट खरसाङ ट्राफिक पुलिस प्रभारीलाई स्थानीय डाउहिल रोड (डा शिवकुमार राई पथ) अनि पंखाबारी रोडमा दैनिक रूपमा जनमानसले भोग्नु परिरहेको गाड़ीको जाम विषयमा एक लिखित ज्ञापन पत्र बुझाइएको छ। ट्राफिक प्रभारी बिरेन्द्र छेत्रीले चॉंडै यस समस्यामाथि समाधानको निम्ति पहल गरिने आश्वासन दिएका छन्।

तेस्रो चरणमा खरसाङ नगरपालिकाका प्रशासक उपाध्यक्ष सुभाष प्रधानलाई पार्टीको पक्षबाट विभिन्न विषयहरुमा एक लिखित ज्ञापन चढाइयो। खरसाङ नगरपालिका अन्तर्गत प्रत्येक वार्डमा ब्लिचिङ पाउडर छर्ने कार्यलाई जन साधारणको सुविधाको निम्ति कार्यान्वयन गरियोस्, वार्डहरुमा सर-सफाई कार्यक्रम अन्तर्गत बाटो छेउ छाउमा उम्रेका झारपातहरू यथाशीघ्र फाड्ने कार्य गरियोस् भनी माग गरिएको छ।

बर्खायाममा विभिन्न विषालु सर्पहरू लगायत जंगली जनावरहरू निस्कने प्रबल सम्भावना रहेकाले वार्डहरूमा बिजुलीका खम्बाहरूमा अविलम्ब बल्ब जडान गरिनु पर्ने माग पनि गरिएको छ। हाउस फर् अल योजनाका लाभार्थीहरूको रकम नगरपालिकाबाट भुक्तान भ‌इरहेको भ‌ए तापनि रहल लाभार्थीहरूको रकम पनि सरकारी मापदण्ड अनुसार चॉंडै भुक्तान गरिनु पर्ने माग गरिएको छ। यस सम्बन्धमा उपाध्यक्ष सुभाष प्रधानले सकारात्मक पहलको वचन दिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande